


राजविराज, २९ पुस : तराईमा सशस्त्र सङ्घर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका सप्तरी संयोजक हतियारसहित सार्वजनिक भएका छन् । सप्तरीको पकरी गाविस–३ निवासी २३ वर्षीय देवराम भनिने अनिलकुमार यादव हतियारसहित सप्तरीका प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेल, प्रहरी प्रमुख गणेशबहादुर थापा, स्थानीय शान्ति समितिका पदाधिकारीसमक्ष आज सार्वजनिक भएको प्रजिअ पोखरेलले बताउनुभयो ।
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा सरकारसँग वार्ता गर्ने तयारीमा रहेको बेला उनी चार थान कटुवा पेस्तोलसहित सार्वजनिक भएका हुन् ।
विगत तीन वर्षदेखि भूमिगत जीवन बिताउँदै आएका उनले सशस्त्र सङ्घर्षबाट उपलब्धि प्राप्त गर्न नसकिने ठहर गर्दै सार्वजनिक भएको बताए ।
सशस्त्र समूहका केन्द्रीय नेतृत्वको नीति खराब भई स्वार्थी बनेको आरोप लगाउँँदै उनले आगामी दिनमा हतियारको राजनीति नगरी समाज सेवामा क्रियाशील रहने बताए ।
जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चामा संलग्न रहेर भूमिगत जीवन सुरु गरेका उनी विगत एक वर्र्षदेखि उदयकान्त मिश्र आजाद नेतृत्वको संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला संयोजक रहेका थिए ।
संयोजक यादवसँगै अन्य कार्यकर्ताहरुसमेत सार्वजनिक हुने तयारी भइरहेको शान्ति समितिका कार्यालय सचिव राजाराम यादवले जानकारी दिनुभयो ।