


रुकुम, ३० पुस : दुई बस व्यवसायी समितिबीच रहेको लामो समयदेखिको विवाद टुङ्गिएलगत्तै जिल्लाका पश्चिम क्षेत्रमा चल्ने सबै सवारीसाधन नियमितरुपमा गन्तव्यमा पुग्न थालेका छन् । सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समिति र भेरी–राप्ती बस व्यवसायी समितिबीच दुवै समितिका गाडी मिलाएर सञ्चालन गर्ने सहमति बनेको हो ।
जिल्लाभर गाडी सञ्चालन गरेको सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समितिले पश्चिम चौरजहारीमा पनि आफ्ना गाडी सञ्चालन गर्न खोजेपछि दुई समितिबीच विवाद उत्पन्न भएको थियो ।
भेरी–राप्ती बस व्यवसायी समितिले चौरजहारी, पश्चिम रुकुम तथा सल्यानमा सिस्ने हिमालका गाडी सञ्चालन हुन नदिएपछि लामो समयदेखि त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो ।
दुई समितिको विवादका कारण दुवै समितिका गाडी आ–आफ्नो क्षेत्रमा मात्र सञ्चालन हुँदै आएका थिए । विवादकै कारण चौरजहारीलगायत रुकुमका अन्य भागमा सिस्ने हिमालले मात्र गाडी सञ्चालन गरेको थियो भने सल्यान, सुर्खेतलगायतका ठाउँमा भेरी–राप्तीले गाडी सञ्चालन गर्ने गरेको थियो ।
दुवै समितिले सीमित ठाउँमा मात्र गाडी सञ्चालन गरेपछि यात्रुले सास्ती भोग्दै आएका थिए । लामो दुरीको यात्रा पैदल हिँडेर गर्नुपरेको यात्रुको गुनासो थियो ।
पटक÷पटक भएको छलफलपछि भेरी–राप्ती समितिले सल्यान सल्लीबजारदेखि रुकुम चौरजहारीसम्म दैनिक दुईवटा र रुकुम पूर्तिमकाँडाको चाइना बगरसम्म सिस्ने हिमाल र भेरी–राप्तीका एक÷एकवटा गाडी सञ्चालन गर्ने सहमतिपछि विवाद टुङ्गिएको हो ।
दुई व्यवसायी समितिको विवाद अन्त्यसँगै चौरजहारीबाट सल्यान, दाङ, सुर्खेत, नेपालगन्ज, काठमाडौँलगायतका ठाउँमा निर्विवादरुपमा गाडी बाहिरिने तथा भित्रिने गरेका छन् ।