


वीरगन्ज, ३० पुस : वीरगन्ज पथलैया औद्योगिक क्षेत्रका उद्यमीहरूले सो क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरेका छन् । सो क्षेत्रमा अझै पनि करिब २०० को सङ्ख्यामा साना–ठूला उद्योग सञ्चालनमा रहेको र करिब २० हजार मजदुरलाई रोजगारी दिइरहेकाले यस्तो घोषणा गरिनुपर्ने उनीहरूको तर्क छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टेमानीले विस्तारित उद्योग क्षेत्रमा मानववस्ती बस्न थालेपछि र उद्योगको भौतिक पूर्वाधार मेटिदैँ गएपछि सुरक्षाको प्रत्याभूति गर्ने अवस्था नभएकाले सरकारले सो घोषणा गर्नुपर्ने बताउनुभयो ।
झलनाथ खनाल नेतृत्वको सरकारको पालामा नै सरकारले यसको स्पष्ट खाका तयार गरेको जानकारी दिदैँ उहाँले वर्तमान अर्थमन्त्री वर्षमान पुन पनि यसमा सहमत भएको स्पष्ट पार्नुुभयो ।
अर्का उद्योगी सुवोध गुप्ताले पनि यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्री नै सकारात्मक भएकाले छिट्टै नै बारा र पर्साको सो क्षेत्र औद्योगिक क्षेत्र घोषित हुने विश्वास व्यक्त गर्नुभयो ।