


बाजुरा, ४ माघ : बाजुरा जिल्लाको पूर्वोत्तर एक गाविसमा चुल्हो छोएको आरोपमा मङ्गलबार दुई दलित कुटिएका छन् । दलित दलितबीचमै उपल्ला जातिको नाममा झगडा भएको हो । घाइते दुवैजनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
जिल्लामा दलित र गैरदलितबीच भइरहेको जातीय विभेद अन्त्यका लागि चर्का आवाज उठिरहँदा सो घटनाले दलित समुुदायबीचमै छुवाछुत प्रथा कायम रहेको तथ्य खुलेको छ ।
यही माघ १ गते राति वाई गाविस–५ मा बसोवास गर्ने दलित–दलितबीचको जातीय विभेदको सो घटना भएको हो ।
जुकोट–६ का महने कडाराका छोरा धन्नाम र स्थानीय खैरे लवारकी छोरी पार्वतीको बिहेको जन्तीभोजका लागि पकाइएको खाना नेपाली जातका व्यक्तिले छोएको निहुँमा आपसी विवाद र कुटाकुट भएको हो ।
बिहेको भोजका लागि पकाइएको खाना छोएको भन्दै लवार समुदायले स्थानीय धर्म नेपाली र जङ्ग नेपालीलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेको हो ।
तल्लो जातको भएर पनि आफ्नो भोजको भान्छा छोएको भन्दै आफूहरुलाई कुटपिट गरेको स्थानीय धनबहादुर नेपालीले बताएका छन् ।
पीडितले जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरीसहित आज उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । रासस