


नुवाकोट (त्रिशूली), ५ माघ : नेपाली वेरोजगार युवाहरू कामको सिलसिलामा भौँतारिँदै धमाधम विदेश पलायन भइरहेका छन् । तर एक फ्रान्सेली युवाले भने जिल्लाको बेलकोटमा गाई पालन थालेका छन् । भ्रमणको क्रममा चार वर्षअघि नेपाल आएका २२ वर्षीय फ्रान्सेली नागरिक फसुवाले अहिले बेल्कोट – ९ बेलकोट भन्ज्याङमा उत्रत जातका गाई पालेर दूधबाट चिज उत्पादन गर्दै आएका छन् ।
फसुवाका अनुसार तीनजना नेपालीसँग मिलेर सुरुमा रु ५० लाखबाट व्यवसाय सुरु गरिएको र अहिले रु एक करोड ५० लाखभन्दा बढी लगानी भइसकेको छ ।
करिब ५७ रोपनी जग्गामा किनेर व्यवसाय गरिरहेका फसुवाको फर्ममा अहिले उत्रत मानिएका होल्यान्ड र जर्सी जातका २१ वटा गाई छन् ।
दैनिक २२ किलो चिज उत्पादन हुँदै आएको फर्मका नेपाली सञ्चालक शिव सापकोटाले बताउनुभयो ।
गाई पालन र चिज उत्पादनबाहेक फार्ममा विकसित जातका बाख्रा, गिरिराज जातको कुखुरा, कागे जातका भेँडा, सेतो बङ्गुर, लोकल हाँस र कमनकार्प नामका माछासमेत व्यावसायिक तवरले पालन गरिएको छ । रासस