Sunday, 20 May 2012 03:09 pm, Nepal

'ह्वेर इज ट्वाइलेट ?', नगरभित्र शौचालय खोज्दै हैरान पर्यटक

मेचीकाली : 2012-01-20 08:19:15


भक्तपुर–नगर प्रवेश गर्ने पर्यटकबाट दैनिक लाखौँ रूपैयाँ उठाउँदै आएको भक्तपुर नगरपालिकाले तिनै पर्यटकका लागि अति आवश्यक शौचालयको पर्याप्त व्यवस्था नगर्दा यहाँ आउने पर्यटकलाई हरेक दिन व्यक्तिको घर तथा पसलमा शौचालय खोज्दै जानुपर्र्ने बाध्यता रहेको छ ।

    नगरपालिकाले नगर प्रवेश गर्ने १६ वटा नाकामा काउन्टर स्थापना गरी प्रत्येक पर्यटकसँग रकम उठाउँदै आए पनि आवश्यकताअनुसारको शौचालय र अन्य पूर्वाधारको समेत पर्याप्त व्यवस्था नगरेपछि विदेशी पर्यटकले पैसा दिएअनुसार सुविधा नदिएको भन्दै आक्रोश व्यक्त गर्ने गरेका छन् ।

     पर्यटकीय क्षेत्रहरूमा आवश्यकताअनुसारको पर्याप्त शौचालय नहुँदा वर्षौंदेखि पर्यटकलाई शौचालय खोज्दै हिँड्नुपर्ने, शौचालयकै लागि होटल, क्युरियो पसल एवम् थान्का पसलमा पुग्नुपर्ने समस्या रहेको ट्राभल एजेन्सीबाट पर्यटक लिएर आएका गाइड कमलमान गुरुङले बताउनुभयो ।

    नगरपालिकाले पैसा उठाउने काउन्टर नजिक कर्मचारीलाई सहज हुनेगरी व्यवस्था गरेको शौचालयमा पनि पानी नहुने, फोहोर दुर्गन्ध हुने, साबुन तथा ट्वाइलेट पेपर नहुने गरेकाले पर्यटकले सास्ती झेल्नुपरेको अस्ट्रेलियन नागरिक मार्क केल्जी ब्रोनीले गुनासो गर्नुभयो ।

    शौचालय नपाएपछि गाइडले थान्का पसलमा पु¥याए, यो कस्तो अचम्म हो, पैसा लिने सुविधा नदिने, यहाँ सरकारले केही हेर्दैन ? ब्रोनीले आक्रोश व्यक्त गर्नुभयो ।

    दरबार स्क्वायरका थान्का व्यापारी अनिल लामा दैनिक पर्यटकले शौचालय सोध्न आएर हैरान पार्ने गरेको बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो —‘थान्का किन्न आए होलान् भनेर मख्ख प¥यो, ट्वाइलेट छ भनेर सोध्छन्, छैन भनाँै विदेशी पाहुना अपमान गरेजस्तो, छ भनूँ घरबेटीको धम्की । हामी पो मारमा छौँ ।’ पर्यटकसँग वार्षिक १५ करोडभन्दा बढी रकम उठाउने नगरपालिका शौचालयमा दुई करोड खर्च गर्दैन, यो विडम्बना कहिलेसम्म भोग्ने पर्यटक व्यवसायीहरू गुनासो गर्छन् ।

    भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिवानचन्द्र धौभडेलले नगरपालिकाले पर्याप्त मात्रामा शौचालयको व्यवस्था नगर्र्दा विभिन्न देशका पर्यटकले समितिमा आएर गुनासो गर्ने गरेको र त्यसको जानकारी नगरपालिकालाई गराउँदासमेत उसले बेवास्ता गर्दै आएकोे बताउनुभयो ।

    पर्यटकसँग सङ्कलन गरेको रकमको १० प्रतिशत रकम मात्र पनि पर्यटकीय पूर्वाधारको विकासमा लगाएमा भक्तपुरको काँचुली फेरिने उहाँको भनाइ थियोे ।

    पर्यटकसँग सङ्कलन गरेको अधिकांश रकम नगरपालिकाले सञ्चालन गरेको विभिन्न कलेजमा खर्च गर्ने गरेको र पर्यटकप्रतिको जिम्मेवारीबाट नगरपालिका पन्छिदै आएको स्थानीय राजनीतिक दलका प्रतिनिधिले गुनासो गरेका छन् ।

    केही महिना अघिमात्र विदेशी पर्यटकले शुल्कबापतको सेवा नदिएको भन्दै तिरेको रकम फिर्ता मागेका थिए भने नगरपालिकालाई गाली गर्दै पत्रसमेत लेखेका थिए ।

    नगरपालिकाले सार्क राष्ट्र र चीनका नागरिकसँग प्रतिव्यक्ति रु १०० र गैरसार्क राष्ट्रका नागरिकसँग प्रतिव्यक्ति रु एक हजार १०० प्रवेश शुल्क लिने गरेको छ ।

    प्रवेश शुल्कवापत गत वर्ष मात्र नगरपालिकाले १२ करोड रूपैयाँ सङ्कलन गरेको थियो भने यस वर्ष १५ करोड ८३ लाख रूपैयाँ सङ्कलन गरेको भए पनि शौचालय भने थपिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु