


सप्तरी, ७ माघ : सरकार र अखिल तराई मुक्ती मोर्चाबीच चार वुँदे सहमति भएको छ । सप्तरीको राजविराजमा शनिवार भएको वार्तामा मोर्चाले जेलमा रहेका आफ्ना कार्यकर्ताको नाम रिहाईका लागि अर्को वार्तामा पेश गर्ने सहमति भएको छ । मोर्चाले अर्को वार्तामा आफूसँग रहेको सबै हातहतियार राज्यलाई वुझाउने र अव कुनै पनि आतंककारी क्रियाकलाप नगर्ने सहमति भएको छ ।
यस्तै वार्ता टोलीका सदस्यहरुलाई सरकारले सुरक्षा प्रदान गर्ने सहमति भएको छ । शान्ति मन्त्री सत्या पहाडिको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र जयकृष्ण गोइतबाट निष्कासनमा परेका अखिल तराई मुक्ती मोर्चा सप्तरीका सैन्य कमाण्डरबीच वार्ता भएको हो । वार्तामा मोर्चाका तर्फबाट सप्तरीका सैन्य कमाण्डुर अजित सिंहमात्रै सहभागी हुनुहुन्थ्यो । अजित सिंहलाई १० दिन अघिमात्रै मोर्चाले पार्टीबाट निष्कासन गरेको थियो ।
वार्ताप्रति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले असहमति जनाउनु भएको छ । गोइतले वार्ताका लागि औपचारिक पत्र नआएकाले मोर्चाका तर्फबाट कुनै पनि प्रतिनिधि सरकारसँगको वार्तामा नगएको बताउनु भयो । गोइतले वार्ताका लागि आफू तयार रहेको भन्दै त्यसका लागि सरकारले औपचारिक पत्र पठाउनु पर्ने बताउनु भयो ।