Sunday, 20 May 2012 03:15 pm, Nepal

एसएलसीका प्रश्नपत्र छाप्ने तयारी पुरा

मेचीकाली : 2012-01-22 09:31:54


भक्तपुर, ८ माघ : जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले यस वर्ष आगामी चैत ७ देखि १६ गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइका लागि आवश्यक तयारी पुरा गरेको छ ।  यही माघ १२ गतेदेखि केन्द्रमा कडा सुरक्षा व्यवस्था एवम् अति गोपनीयताका साथ प्रवेशिका अर्थात् एसएलसी परीक्षाको प्रश्नपत्र छपाइ सुरु गरिने छ ।  

एसएलसीको प्रश्नपत्र नेपालमा नै छपाइ गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार गत वर्ष केन्द्रले प्रश्नपत्र छपाइको जिम्मा पाएकामा यस वर्ष पनि सो  जिम्मा पाएको छ ।    

    केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयमा तीनवटा शैक्षिक सुरक्षण मुद्रणालय अर्थात् सेक्युरिटी प्रेसमा सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ गरिने जनाएको छ ।    

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले तीनवटा घेरा बनाएर सुरक्षाको व्यवस्था गने छन् । प्रश्नपत्र छपाइ अवधिभर छपाइमा संलग्न गोप्य शाखाका कर्मचारीलाई काम नसकिएसम्म घरजान नदिइने, परिवार तथा आफन्तसँंग सम्पर्क गर्न नदिइने र मोबाइल लान नदिइने व्यवस्था गरिएको केन्द्रले जनाएको छ । आवश्यक परे परीक्षा नसकिएसम्म प्रश्नपत्र छाप्ने, प्याकिङ गर्ने र ब्यान्डिङ गर्ने कर्मचारीलाई केन्द्रले प्रेसमै राख्न सकिने व्यवस्था समेत गर्ने छ ।

    गोप्यताका लागि प्रश्नपत्र छपाइ हुने क्षेत्रमा १६ वटा सिसिटिभी जडान गरिएको छ । प्रश्नपत्र छपाइ अवधिभर परीक्षा नियन्त्रण कार्यालय र केन्द्रका प्रमुख व्यक्तित्व समेत सेक्युरिटी प्रेसमै रहेर निगरानी गर्ने व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

    यस वर्ष पाँच लाखभन्दा बढी परीक्षार्थीका लागि करिब एक करोड थान प्रश्नपत्र छापिने भएको छ । गत वर्ष ३५ दिनमा प्रश्नपत्र छपाइ गर्ने लक्ष्य राखिएकामा २७ दिनमा सकिएको र यसवर्ष २० देखि २५ दिनभित्र छपाइ सिध्याउने लक्ष्य राखिएको परीक्षा नियन्त्रण कार्यालय तथा केन्द्रले जनाएका छन् ।

    यही माघ ५ गते शिक्षामन्त्री, परीक्षा नियन्त्रक, केन्द्रका प्रबन्ध सञ्चालक, परीक्षा बोर्डका पदाधिकारी र तीनवटै सुरक्षा निकायबीच सुरक्षा व्यवस्था कडा गर्ने र गोपनीयता राख्नेबारे छलफल भएको थियो ।

    केन्द्रले एसएलसी, उच्च मावि र क्याम्पसका प्रश्नपत्र लगायत मुलुकको गोप्य सामग्री छपाइ गर्दै आएको छ ।     विगतमा भारतमा प्रश्नपत्र छपाइ हँुदै आएकामा विदेशमा प्रश्नपत्र छपाइ गर्दा नेपालको करोडाँै रकम बिदेसिने तथा भ्रष्टाचार हुने गरेको आरोप लाग्दै आएपछि  गत वर्षदेखि नेपालमा नै प्रश्नपत्र छपाइ सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु