


ललितपुर, ८ माघ : सडक कालोपत्रे गर्न काटिएको दाउरामा आगलागी भएपछि ललितपुरको लेले गाविस–२ स्थित दुई गाउँबीच तनाव उत्पन्न भएको छ । स्थानीय सडक कालोपत्रे गर्न काटिएको रु ८० हजार मूल्यको दाउरामा अज्ञात समूहले आगो लगाइदिएपछि स्थानीय गाउँलेबीच आरोप प्रत्यारोप भएर तनाव भएको हो ।
लेले वडा नम्बर २ का डी गाउँवासीले दाउरामा आगो लगाएको सोही वडाकै अर्को महत गाउँका जनताले आरोप लगाएका छन् ।
घटनामा संलग्न भएको आशङ्कामा डी गाउँका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि थप तनाव चर्किएको स्थानीय प्रमेश सिलवालले बताउनुभयो ।
उहाँका अनुसार सोही स्थानमा सडक कालोपत्रे गर्न रु १३ लाखको बजेट सरोकारवाला निकायबाट परेको थियो ।
घटनापछि एकअर्का गाउँबीच आरोप–प्रत्यारोप भइ झडपको स्थिति भएको थियो । स्थानीय ज्वालादेवी मन्दिरसमेत तोडफोड गरिएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा सोधपूछका लागि स्थानीय केही युवालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
घटना गत माघ ५ गते राति भएको र विवाद चुलिएपछि मात्र उनीहरु प्रहरीसमक्ष आइपुगेको बताइएको छ ।
यसैबीच, ललितपुरकै घुसेल गाविस–७ स्थित दोबाटो डाँडामा ढुङ्गा प्रहार गरी स्थानीय अक्कलबहादुर थिङको हत्या गरिएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा किटानी जाहेरी आएपछि चापागाउँ प्रहरीले सोही गाउँकै स्थानीय छजनालाई नियन्त्रणमा लिएको छ ।
माघ ६ गते भएको उक्त घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।