


नेपालगन्ज, ९ माघ : पेट्रोलियम पदार्थको मुल्यवृद्विको बिरोधमा आज बाँकेमा क्रियाशिल विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको क्षेत्रीय कार्यालय घेराउ गरेका छन् । आयल निगमको राँझास्थित क्षेत्रीय कार्यालय बिहान १० बजेदेखि करिब डेढ घण्टासम्म घेराउ गरिएको थियो ।
निगमअघि धर्नापछि कोणसभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य दीपा शर्माले वर्तमान सरकारले राहत दिनुको सट्टा गरिब जनताको चुल्हो निभाएको भन्दै मुल्यवृद्वि तत्काल फिर्ता लिन माग गर्नुभयो । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य अशोक पोखरेलले मुल्यवृद्वि फिर्ता नभएसम्म आन्दोलन नरोकिने भन्दै सरकारसँग कुनै पनि वाहानामा सहमति नगर्न विद्यार्थी नेताहरुलाई चेतावनी दिनुभयो । नेविसंघका जिल्ला अध्यक्ष प्रकाश सिग्देलले वर्तमान सरकार सबैभन्दा भ्रष्ट रहेको कमिसनकै लागि मुल्यवृद्वि गरेकाले तत्काल मुल्यवृद्वि फिर्ता नलिए विद्यार्थीले देश नै ठप्प पारिदिने चेतावनी दिनुभयो ।
यसैबीच, आयल निगमको क्षेत्रीय कार्यालय गेटमा नारावाजी गरिरहेका विद्यार्थीहरुले श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई कालोझण्डा देखाउँदै ढुङ्गा प्रहार गरेका थिए । एक कार्यक्रममा सहभागि हुन नेपालगन्ज आउँदै गर्नुभएका श्रममन्त्री गिरी राँझा विमानस्थलबाट बाहिरिने क्रममा विद्यार्थीहरुले कालोझण्डा देखाउँदै ढुङ्गा प्रहार गरेका हुन् ।