


पर्वत, ९ माघ : विद्युत् चुहेर घरमा आगलागी हुँदा दुईजनाको जलेर घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय श्रीमती पुन र गौसरा पुन रहेकी छन् । पर्वतको देउराली गाविस–४ पूर्णगाउँका होमबहादुर पुनको घरमा आज बिहान आगलागी भएको हो । आगलागी हुँदा घरभित्र रहेका उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार भइरहेको छ । थप उपचारका लागि उनीहरुलाई पोखरातर्फ लैजाने तयारी भइरहेको छ ।
आगो तत्काल नियन्त्रणमा लिन नसक्दा घरसमेत जलेर पूर्णरुपमा नष्ट भएको छ । अहिले उक्त गाउँ तनावग्रस्त बनेको छ । उद्धारका लागि डिमुवा प्रहरी चौकी र सदरमुकाम कुश्माबजारबाट प्रहरीको बेग्लाबेग्लै टोली घटनास्थलतर्फ गएका छन् ।
उक्त घटनाका कारण गाउँका विद्यालयमा पठनपाठनसमेत बन्द भएको स्थानीय शिक्षक पूर्णबहादुर कुँवरले बताउनुभयो ।