


इटहरी, ११ माघ : सरकारले इँटा उद्योगीहरुले सुरु गरेको आन्दोलनको समस्या समाधानमा चासो नरोखपछि विकास निर्माण योजना अलपत्र पर्दा निर्माण क्षेत्रसँगै दैनिक रोजगारीबाट जीवन गुजारा गर्ने श्रमजीवीहरु समस्या पर्न थालेका छन् ।
इँटा व्यवसायीहरुले गत माघ १ गतेदेखि मूल्यअभिवृद्धि करको सट्टामा वार्षिक एकमुष्ट फ्ल्याट कर लिन विकल्प दिएर थालेको आन्दोलनप्रति सरकारले चासो नराख्दा विभिन्न विकास योजनाहरु ठप्प प्रायः बन्न पुगेका छन् ।
सरकारले पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा सञ्चालनमा रहेका इँटा उद्योगलाई मात्र मूल्य अभिवृद्धि कर लगाउँदै आएको र अन्य ७२ जिल्लाका इँटा उद्योगीलाई भने एकमुष्ट फ्ल्याट कर लिँदै आएकोमा पनि विरोध जनाउँदै आएको थियो ।
इँटा व्यवसायीहरुले आन्दोलन थालेपछि निर्माण क्षेत्रमा इँटा प्राप्त नहुँदा नयाँ निर्माण हँुदै गरेका उद्योगहरु तथा विद्यालय र अन्य सार्वजनिक क्षेत्रका भवन निर्माणका काम ठप्प हुन पुगेका छन् ।
सुनसरीको सदरमुकामनजिक नरसिंह गाविसमा सञ्चालनमा आएको चाइनिज लगानीको सिम्याक्स इन्डस्ट्रिजले थप भवन निर्माणअघि बढाइरहेको अवस्थामा एकाएक इँटा आपूर्ति बन्द भएर काम रोकिँदा ठूलो नोक्सानी बेहोर्नु परिरहेको गुनासो गरेको छ ।
कतिपय विद्यालयको नयाँ विद्यालय भवन बन्दाबन्दैको अवस्थामा इँटा नपाएर भवन निर्माण पूरा गर्न नसक्दा विद्यार्थीलाई चिसोमा बाहिर मैदानमा पढाउन बाध्य हुनुपरेको स्थानीयवासीले गुनासो गरेका छन् ।
उद्योगबाट इँटाबाहिर निस्कन नसक्दा इँटा ओसारपसारको पेसामा लागेका कामदारहरुले आफूहरुले १० दिनदेखि काम नपाउँदा भोकै बस्नुपर्ने अवस्था आएको गुनासो गर्दै सरकारलाई चाँडो समस्याको निकास दिन अनुरोध गरेका छन् ।
इँटा व्यवसायीहरुले इँटा बनाउन नरोके पनि बिक्री ठप्प पारेपछि उद्योग विद्यालय र निजी घरबाहेक अरु सार्वजनिक सेवाका भवन निर्माणमा पनि इँटा अभावले काम रोकिँदा पूर्वी नेपालका सबै जिल्लाका हजारौँ कामदार कामविहीन बन्न पुगेका छन् ।र