Sunday, 20 May 2012 03:25 pm, Nepal

हिमताल विष्फोटको भयमा बाँचेका छन् बाह्रबिसेबासी

रासस : 2012-01-25 13:39:43


-कृष्ण अधिकारी

बाह्रबिसे (सिन्धुपाल्चोक), ११ माघ : हिमताल फुटेर ठूलो बाढी आई कतै गाउँ नै बगाएर लैँजाला कि भन्ने चिन्ताले बाह्रबिसेका ७७ वर्षीय रत्नकाजी श्रेष्ठलाई सधँै सताउने गर्दछ ।  पछिल्लोपटक २०४४ सालमा आएको बाढीले पाँच जनालाई बगाएको, थुप्रै घरहरु नष्ट गरेको, सयौँ वस्तुभाउ बगाएको तथा सुनकोसी जलविद्युत् गृहको बाँधमा पु¥याएको क्षतिको सम्झना उहाँलाई अहिले पनि ताजै छ ।

‘हेर्दाहेर्दै नदीमा ठूलो बाढी आयो, मानिसको भागाभाग भयो । कतिका घर गर्लम्मै बगायो, वस्तुभाउ कता हो कता ? माथिबाट रुख, काठपात, ढुङ्गामुडा बढारेर बाढी आएको थियो । मरेका सिनोहरुले कति दिन त गाउँमा दुर्गन्ध नै भयो’ उहाँ ती दिन सम्झँदै भन्नुहुन्छ– ‘अहिले पनि मन ढक्क फुलेर आउँछ, यो उमेरमा फेरि त्यस्तो दुःखद् घटना देख्न नपरोस् ।’

    यसो त २००२ सालमा लक्ष्मी पूजाको दिन आएको बाढीले बाह्रबिसेका धेरै घर बगाएको घटना होस् वा २०३८ मा आएको हिमबाढीले थुप्रै घर, वस्तुभाउ, जग्गाजमिन र राजमार्ग र पुलहरुसमेत बगाएको बारेमा उहाँलाई राम्रो जानकारी छ ।

    यसैगरी फेरि पनि हिमाली क्षेत्रमा रहेका थुप्रै हिमताल फुट्ने खतरामा छन्, जुनसुकै बेला पनि विष्फोट भई धेरै वस्ती, खेतबारी बगाउन सक्छभन्ने जानकारी भएपनि त्यसबाट कसरी बच्ने भन्नेतर्फ समुदायस्तरमा पनि अहिलेसम्म कुनै तयारी नभएको र राज्यले पनि यसतर्फ कुनै ध्यान नदिएको उहाँले बताउनुहुन्छ ।

वर्सेनि आउने बाढीले भोटेकोसी नदीको सतह झन्डै १० मिटर माथि बढेको र वर्षायाममा बाढीको भयले स्थानीयबासी घर छोडेर माथि जङ्गलतिर भाग्ने गरेको बताउँछन् । २०५६ सालमा नदीमा डोजर लगाएर पानीको सतह केही घटाएपनि अहिले पुरिएर फेरि उस्तै बनाएको छ ।

    ‘नेताहरुले चुनावको बेला अनेक आश्वासन त दिन्छन् तर काम केही हुँदैन । बाढीले कतिबेला बगाउने हो भन्ने चिन्ताले हामीलाई छोडेको छैन’ स्थानीय भगवती थापाले गुनासो गर्नुभयो ।

     गरिबी, सामाजिक पछौटेपन तथा चेतनाको अभावको कारण भोटेकोसी नदी किनारमा मानिसको वस्ती बाक्लो रहेको छ । २०४४ सालमा आएकोजस्तै ठूलो बाढी आएमा भोटेकोसी नदी किनारका वस्तीहरु सुकुटे, बलेफी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे, साखुवा, चाकु, हिन्दी, तातोपानी र लिपिङ गाउँमा ठूलो जनधनको क्षति हुनुको साथै थुप्रै भौतिक संरचना र खेतीयोग्य जमिन बगाउने इसिमोडको अध्ययनले देखाएको छ ।

    हाल यस क्षेत्रमा त्यतिबेलाको जस्तो बाढी आएमा करिब ९०० घरका करिब पाँच हजार ८०० जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुनेछन् भने त्यसमा थप १० मिटर बढी बाढी आयो भने एक हजार ६५३ घरका १० हजार जनसङ्ख्या विस्थापित हुनसक्ने देखिन्छ । यसबाट १५९ देखि १९७ लाख अमेरिकी डलरभन्दा बढीको नोक्सानी हुने बताइएको छ ।

     यस किसिमको सम्भावित बाढीबाट नेपाल – चीन मितेरी पुलदेखि दोलालघाटसम्मको २० किमि अरनिको राजमार्गमा क्षति पुग्नुको साथै खाँडीचौर, बाह्रबिसेको पुल तथा सुनकोसी र भोटेकोसी जलविद्युत् आयोजनाका बाँधस्थल पनि भत्काउने खतरा रहेको छ ।

    अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) ले जलवायु परिवर्तनका कारण हिन्दकुश हिमालय क्षेत्रमा २०० भन्दा बढी हिमताल विष्फोटको खतरामा रहेको जनाएको छ । तीमध्ये नेपालमा मात्रै २० वटा ताल रहेका छन् ।

    विगतमा भएका २४ वटा ठूला हिम बाढीहरुमध्ये १४ वटा नेपालमा र १० वटा तिब्बती क्षेत्रबाट आएको थियो ।

    २०४४ सालमा भोटेकोसीमा आएको हिमबाढीले तातोपानी र कोदारीमा पाँच जनाको मृत्यु भएको थियो भने १९१ जना घाइते, ४१ घर बगाएको, ४७ घर नष्ट भएको, दुईवटा पक्की पुल भत्काएको र १० वटा साना पुल तथा थुप्रै पानीघट्ट बगाएको थियो ।

    अरनिको राजमार्गको लामोसाँघु–कोदारी खण्डका थुप्रै कल्भर्टहरु बगाउँदा करिब २७ किमी सडक बिग्रन गई एक महिनाभन्दा बढी समय यातायात सुचारु हुन सकेको थिएन ।

    सो बाढीले सुनकोसी जलविद्युत् आयोजनाको बाँध भत्काउनुको साथै लामोसँघु–बाह्रबिसेको प्रशारण लाइन बिग्रदा एक महिना विद्युत् आपूर्ति बन्द भएको थियो ।

    प्रतिसेकेण्ड ३३०० घनमिटरका दरले आएको सो बाढीले करिब ९०० घरपरिवारका बासिन्दा प्रत्यक्ष प्रभावित भएका थिए भने ३० लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो ।

    सन् १९३५ मा तिब्बतको तारा को ताल विष्फोट भई आएको बाढीले मानवीय क्षति नगरेपनि नदी किनारका थुप्रै खेतबारी, पुलपुलेसा तथा बस्तुभाउ बगाएको थियो । सन् १९६४ मा झाङझाङग्वो ताल विष्फोट हुँदा पनि ठूलो नोक्सान भएको थियो ।

त्यसबाहेक, सन् १९८७ जुन ३० मा आएको बाढीले अरनिको राजमार्गको ठाउँठाउँमा क्षति भएको थियो । सन् १९९६ जुलाइ २२ मा आएको अर्को बाढीबाट ५४ जनाको मृत्यु भएको थियो भने २२ घर बगाएको थियो ।

हिमबाढीको उच्च जोखिममा रहेको यस नदी किनारामा मानव वस्ती बस्ने क्रमलाई रोक्नु आवश्यक भएको स्थानीय ग्रामीण विकास संस्थाका शम्भु सापकोटा बताउनुहुन्छ –‘यसका लागि सरकारले घर निर्माणसम्बन्धी आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छ र विद्यालय, विद्युत् आयोजनाहरुजस्ता विकास निर्माणका कामहरु गर्दापनि ध्यान दिनुपर्छ ।’

सम्भावित बाढीबाट बच्न विभिन्न ठाउँमा आकस्मिक सूचना घन्टीहरु (साइरन) राखिएको भएपनि त्यसबारे स्थानीयबासी अनभिज्ञ रहेको बताउँछन् । ‘खै वर्सेनि जलवायु तथा मौसम विज्ञान विभागले आएर नदीमा पानीको सतह नाप्ने गर्दछ, तर त्यसबारेमा हामीलाई केही बताएको छैन’ स्थानीय विष्णुभक्त श्रेष्ठले भन्नुभयो– ‘यसरी हामीलाई थाहै नदिई काठमाडौँमा बसेर बनाउने रिपोर्टबाट हामीले के आश गर्ने, हामी वर्षायाम लाग्न सुरु गरेदेखि कतिबेला मरिने हो भन्ने चिन्तामा हुन्छौँ ।’

विगतमा इम्जा, च्छोरोल्पाजस्ता केही हिमतालको असामान्य वृद्धि भएको र डिग चो, छोबुङजस्ता हिमताल विष्फोट भइसकेको अवस्थामा यहाँका हिमतालहरुको बारेमा स्थानीयबासीलाई सचेत गराउनेतर्फ इसिमोडले ध्यान दिएको बताउनुहुन्छ सो संस्थाका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा अरुणभक्त श्रेष्ठ ।

हिमक्षेत्र, हिमनदी तथा हिमतालसम्बन्धी पूर्व जानकारीबारे स्थानीयबासी, सञ्चारकर्मी तथा नीति निर्मातासम्म पु¥याउन सकिएमा यस क्षेत्रमा हिमताल विष्फोटको बाढीबाट हुने क्षतिको पूर्व सावधानी अपनाउन, पूर्व तयारी गर्न तथा रोकथामका उपायहरु अपनाई क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।

पृथ्वीको तापक्रम वृद्धिसँगै हाम्रा हिमनदीहरु पग्लने क्रमममा तीब्रता आउँदा हिमतालहरु बढ्न गई विष्फोट हुने क्रम बढ्न थालेको छ । यसले जतिबेला पनि ठूलो प्राकृतिक विपत्ती ल्याउने खतरा बढाएको छ तर त्यसबाट कसरी बच्न सकिन्छ भन्नेतर्फ स्थानीयवासीमा आवश्यक सूचना र जानकारीको अभावका कारण सानो विपत्तीबाट पनि ठूलो क्षति हुने हुँदा त्यसतर्फ सम्बन्धित निकायको समयमै ध्यान जानु जरुरी देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु