Sunday, 20 May 2012 03:27 pm, Nepal

पूर्वसांसद साह कारागार चलान

मेचीकाली : 2012-01-25 20:23:33


राजविराज, ११ माघ : हत्याको आरोपमा नेकपा (एमाले) का पूर्वसांसद जगदीशप्रसाद साह आज कारागार चलान भएका छन् ।    पुनरावेदन अदालत राजविराजले थुनामा राख्ने फैसला सुनाएको एक महिनापछि बुधबार सप्तरी जिल्ला अदालतमा हाजिर भएपछि साहलाई कारागार चलान गरिएको हो ।

    अदालतले कर्तव्य–ज्यान मुद्दाका आरोपी साहलाई गत पुस ७ गते थुनामा राख्न आदेश दिएको थियो ।

    सप्तरीको शम्भुनाथ गाविस निवासी साह आज पुनरावेदन अदालत हाजिर भएपछि अदालतले प्रहरीको जिम्मा लगाएकाले उनलाई आजै कारागार चलान गरिएको हो ।

    गत असार ३२ गते साहको निर्देशनमा उनका अङ्गरक्षक प्रहरी जवान प्रवेश मेहताले चलाएको गोली लागी स्थानीय रामबहादुर चौधरीको मृत्यु भएको थियो ।

    सप्तरी जिल्ला अदालतले धरौटी लिएर रिहा गर्न दिएको आदेश बदर गरी पुनरावेदनले पुर्पक्षका लागि थुनामा राख्न फैसला सुनाएको थियो ।

    नियमानुसारको सिधा खान दिई अदालती बन्दोबस्तको १२१ बमोजिम थुनुवा पूर्जी थमाएर थुनामा राख्ने आदेश दिइएको थियो ।

    साहकै निर्देशनमा उनका अङ्गरक्षक मेहताले गोली चलाएका कारण थुनामा राखी पुर्पक्ष गर्नुपर्ने माग पुनरावेदनसमक्ष गरिएको थियो ।

    आरोपी साहले भने जिल्ला अदालतले धेरै धरौटी लिएको भन्दै पुनरावेदनसमक्ष साधारण तारेखमा मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए ।

    दुवै दाबीउपर पुस ७ गते सुनुवाइ हुँदा न्यायाधीशद्वय चौलेन्द्रशम्शेर जबरा र प्रेमबहादुर केसीको संयुक्त इजलासले साहसहितका आरोपीलाई धरौटीमा रिहा गरी मुद्दाको पुर्पक्ष गर्ने यसअघिको जिल्ला अदालतको आदेशलाई उल्टाउँदै  आरोपीहरुलाई थुनामा राखी पुर्पक्ष गर्ने फैसला सुनाएको थियो ।

    उक्त फैसलाले साह तथा मेहता पक्षले रामबहादुर चौधरी पक्षका तीन जनाउपर चलाएको डाँका तथा कर्तव्य ज्यान मुद्दाका आरोपीलाई पनि पुर्पक्ष नहुन्जेलसम्मका लागि थुनामा राख्न भनेको थियो ।

    सांसद साह पक्षले मृतक चौधरी पक्षका सरोज चौधरी, बलराम चौधरी र आशाराम चौधरीउपर डाँका तथा कर्तव्य ज्यान मुद्दा दर्ता गराएका थिए ।

     जिल्ला अदालतले चौधरीत्रयसँग सामान्य धरौटी लिएर रिहा गर्ने आदेश दिएको थियो । तर यिनीहरु हालसम्म अदालतमा उपस्थित भएका छैनन् ।

    गोली चलाउने साहका अङ्गरक्षक मेहतालाई जिल्ला अदालतकै फैसलाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

    गोली चलेको समयमा स्थानीयहरुको कुटपिटबाट घाइते भएका पूर्व सांसद साहका अङ्गरक्षक प्रवेश मेहताको औषधि उपचार गर्नेगरी थुनामा राखेर पुर्पक्ष गर्न जिल्ला अदालतले आदेश दिएको थियो ।

    गत भदौ ८ गते भएको जिल्ला अदालतको फैसलाले प्रहरी नियन्त्रणमा रहेका साहसँग रु एक लाख ५० हजार धरौटी लिएर रिहा गर्न फैसला सुनाएको थियो ।

    मृतक रामबहादुर चौधरीको तर्फबाट नेपाल सरकार र दीपेन्द्र चौधरीद्वारा संयुक्तरुपमा साह र महतोविरुद्ध मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पोखरामा आएको हिम पहिरो

पोखरामा गएको हिम पहिरोको भिडियो । भिडियो : मेरोन्यूज

थप भिडियोहरु