Tuesday, 22 May 2012 03:00 pm, Nepal

होमस्टे र महिलाको सक्रियतामा गाउँको परिवर्तन

मेचीकाली : 2012-01-27 08:46:42


पर्वत– गाउँमा विकास निर्माणका कुरा हुन् वा अध्ययनका कुरा, झैंझगडा कुरा हुन् वा अतिथि सत्कारका कुरा । सबैका लागि परामर्शदाता बनेकी छिन् सुशीला गुरुङ ।चालिस वसन्त पार गरेकी सुशिला बाँचुन्जेल गाउँकै काँंचुली फेर्नमा लाग्ने हठ गर्छिन् । ‘हाम्रो गाउँ गरिबीले पिल्सिए पनि सौन्दर्यले धनी छ,’ उनी साहस प्रकट गर्दै भन्छिन्, ‘यो सौन्दर्यको विदेशमा गए डलरमा किनेर मज्जा लिनुपर्छ, हाम्रो गाउँंमा आए कलासंस्कृतिको मज्जासँगै त्यसको सौन्दर्य सिंत्तैमा लुट्न पाइन्छ ।’

उनले गाउँको विकास गर्न एउटा जम्बो टिम नै खडा गरेकी छन् । उनी दिनमा विद्यालयमा चक डस्टर घोट्न व्यस्त हुन्छिन् भने साँझमा गाउँलेका समस्या केलाउनमा ।

     उनले गाउँको दुःख बिर्सिएर सहरिया जीवनमा मस्त भएकालाई समेत गाउँ फर्काएकी छन् । लोग्नेमानिस विदेशमा लाहुरे भए पनि तिनका श्रीमती सहरिया खुसी त्याग्दै सुशीलाको अभियानमा सक्रिय छन् । अहिले गाउँलाई आफ्नो घर सम्झेर १० जना विवाहित र अविवाहित महिला ग्रामीण होमस्टेमार्फत पर्यटक भित्र्याउने अभियानमा छन् । त्यस्तै सुशीला र शिक्षक मधुसूदन अधिकारीले विकटमा रहेको विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाइसकेका छन् ।

     दुवैको सक्रियताले गाउँमा मदिरा, चुरोट जस्ता वस्तुको खरिद बिक्री बन्द भएको छ । गाउँमा प्लास्टिकजन्य वस्तुको समेत प्रयोगमा रोक लगाइएको छ । एक वर्षअघि ग्रामीण पर्यटन होमस्टे चित्रे गठन गरी उनले संयोजकको भूमिका बहन गरेकी छन् । उनले फुर्सदको समयमा पढाएर समूहमा सहभागी महिलालाई आफ्नो नाम लेख्ने बनाएकी छन् । महिलाको एकल प्रयासमा सुरु भएको यो होमस्टे जिल्लाकै पहिलो हो ।

    दस घरमा मात्र होमस्टे सुरु भएको हो । पर्यटकीय गन्तव्य पञ्चासेको प्रवेशद्वारका रुपमा रहेको चित्रेबाट माछापुच्छ्र्रे«, धौलागिरि, नीलगिरि, अन्नपूर्ण हिमाल नियाल्न पाइन्छ । बिहानीपखको सूर्योदयसँगैको सेताम्मे हिमालले चिसोमा कठ््याङ्ग्रिएकाहरु पनि क्यामेरा तेर्साएर पोजका तस्बिर क्यामेरामा कैद गर्न झुम्मिन्छन् । गुरुङ वेशभूषामा सजिएर महिलाले अतिथिलाई माला र अबिरले स्वागत गरी गाउँमा मात्र पाइने स्थानीय जातका परिकार खुवाउने गर्छन् ।

     ‘महिला हिजोका जस्ता छैनन्,’ होमस्टे सञ्चालिका विष्णु गुरुङले भनिन्, ‘हामी परिवर्तित भएका छौँ, हामी महिला पनि केही गर्नसक्छौँ, उदाहरण हामी आफैँ बनेका छौँ ।’ होमस्टे सुरुसँगै बोल्न लजाउने र घर भन्दाबाहिर नजाने महिला अहिले मीठो बोलीमा अतिथिको सत्कार गर्न व्यस्त छन् । होमस्टेमा बस्नेले पश्चिमेली सङ्गीतमा नभएर गाउँघरमै बज्ने र सुनिने भाकाको मज्जा लुट्न पाउँछन् ।

    महिलाहरुले पश्चिमेली सङ्गीतलाई समेत गाउँमा रोक लगाएका छन् । डिमुवा बजारबाट पैदल र यातायातको दूरीमा पुगिने चित्रेमा अहिले आन्तरिक र बाह्य पर्यटकले अनुपम सौन्दर्यको मज्जा लुटिरहेका छन् । ‘यस्ता मेहनती महिला नेपालमा सायदै मात्रमा होलान्,’ स्थानीय समाजसेवी मेखबहादुर गुरुङ भन्छन्, ‘हामीले गर्न नसकेको काम हाम्रा छोरी, बुहारी र श्रीमतीले गरेर देखाएका छन् ।’

     एक वर्र्षअघिसम्म चित्रे सुनसान जस्तै बन्ने गथ्र्यो । अहिले दैनिक रुपमा आगन्तुकको चहलपहल हुने गरेको छ । ‘हामी हाम्रो गाउँलाई नेपालकै नमुना गाउँं बनाएर देखाउने छौँ,’ सुशीलाले भनिन्, ‘जसका लागि हामी महिलाले अभियान थालिसकेका छौँ ।’ ‘हामी अवसर खोज्दैनौँ,’ गुरुङ धक फुकाएर भन्छिन्, ‘ आफैँ अवसर सिर्जना गरेर काम गर्छौं, यो पनि हामी आफैँले सुरुआत गरेको कार्य हो ।’ रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु