


बाँके, १३ माघ : एकीकृत नेकपा माओवादीको भेरी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाँकेको चिसापानी जाने क्रममा कोहलपुरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने ४ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्य रोकाय, प्रकाश सिग्देल, केशव वली र जनक पुन रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । यसअघि प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने विद्यार्थीहरुलाई मध्य नजर गरी सुरक्षा व्यवस्था कडा बनाईए पनि कोहलपुरमा विद्यार्थीहरुले कालो झण्डा देखाएका थिए । पार्टीको पश्चिम ब्यूरो स्तरीय थारुवान राज्य, भेरी कर्णाली, सेती महाकाली राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन प्रधानमन्त्रीलगायतका नेताहरू बाँके पुगेका हुन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, प्रधानमन्त्री डा. बाबुराम भट्टराई महासचिव रामबहादुर थापा आउनुभएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म जिल्लाको चिसापानीस्थित मेडिकल कलेजको हलमा हुने प्रशिक्षण कार्यक्रममा नेताहरूले कार्यकर्ताहरुलाई प्रशिक्षण दिंदैछन् ।