


जनकपुर, १४ माघ : धनुषाको गाविस सोनिगामा वडा नं ९ टिल्ही स्थित रहेको १२ बिगाहा जमिनमा फेरि वाईसीएलका कार्यकर्ताहरुले कब्जा गरी झण्डा गाडेका छन् । धनुषा जिल्ला क्षेत्र नं २ का कमिटीको अगुवाइ तथा स्थानीय एकीकृत नेकपा माओवादी सोनिगामा कमिटीको अध्यक्ष देवेन्द्र रायको नेतृत्वमा जग्गा कब्जा गरी पार्टीको झण्डा गाडिएको हो ।
जग्गा कब्जा गर्ने समयमा मोहन वैद्य पक्षधर एकीकृत नेकपा माओवादीका धनुषा जिल्ला इन्चार्ज रोशन जनकपुरी, वाईसीएल धनुषा जिल्ला इन्चार्ज श्याम यादव, क्रान्तिकारी सुकुम्वासी सङ्गठनका धनुषा जिल्ला संयोजक नन्दकुमार झालगायतका उपस्थित रहेको वाईसीएल क्षेत्र नं २ का इन्चार्ज अनिल कुमारले जानकारी दिनुभयो । सो जग्गा सशस्त्र जनयुद्धकालमा पनि माओवादीहरुले कब्जा गरेका थिए ।