


बनेपा, १४ माघ : दोस्रो जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थको नाममा मुकेश प्रतिष्ठान गठन भएको छ । सो प्रतिष्ठानको हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले संयुक्तरुपमा आज उदघाटन गर्नुभयो । मुकेशको आफ्नै निवासमा भएको सो समारोहमा बोल्दै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मुकेश सबैको गर्व भएको उल्लेख गर्नुभयो ।
उहाँले अहिले जसलाई पनि शहिद घोषण गर्ने प्रचलन बढेको छ यसले राष्ट्रका वास्तविक सहीदको अवमूल्यन भएको बताउनुभयो ।
अर्का हास्य कलाकार हरिवंश आर्चायले मुलुकमा विखण्डनको राजनीति मौलाएको आरोप लगाउँदै नेताहरुमा राष्ट्रियताको भावना छैन भन्नुहुँदै सहीदको योगदानकै कारण मुलुकमा गणतन्त्र आएको बताउनुभयो ।
साहित्यकार तथा काभ्रेका अग्रज पत्रकार मोहन दुवालले मुकेश दोस्रो जनआन्दोलनको जिउँदो सहीद भएको बताउनुभयो ।
जनआन्दोलनपछि गम्भीर घाइते हुनुभएका मुकेश बोल्न नसक्ने अवस्थामा दिनरात ओछ्यानमै रहेका छन् । रासस