


बनेपा, १५ माघ : नयाँ तरिका अपनाएर रक्तचन्दनको कारोबार गर्ने तीनजनालाई झन्डै २६ किलोग्राम रक्तचन्दन सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले लामो आकारको झोलामा एक÷एक थान रक्तचन्दन राखेर ल्याइएको अवस्थामा प्रहरीको नियमित जाँचका क्रममा गएराति तिनलाई पक्राउ गरिएको हो ।
एउटा साढे १२ किलोग्राम र एउटा साढे १३ किलोग्रामको दुई थान सो रक्तचन्दन सहित बा १३ प ५५०१ नं को मोटरसाइकल र बा २३ प ६५०४ नं को मोटरसाइकल समेत प्रहरीले बरामद गरेको प्रनाउ सिंहले जानकारी दिनुभयो ।
अवैध रक्तचन्दनको कारोबारमा संलग्न सिन्धुपाल्चोक गाती– ९ का विक्रम श्रेष्ठ र कुमार श्रेष्ठ तथा मध्यपुर थिमि–१३ का अर्का विक्रम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले प्रहरीसँगको बयानमा सो रक्तचन्दन तातोपानी लैजान लागेको स्वीकार गरेका छन् । यही माघ ४ गते पनि प्रहरीले नियमित जाँचका क्रममा एक क्विन्टल ५० किलोग्राम रक्तचन्दन बरामद गरेको थियो । रासस