


धनकुटा, १५ माघ : प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी कार्यक्रममा समाचार संकलन गर्न गएका धनकुटका पत्रकारलाई प्रहरीले घेराबन्दीमा राखेको छ । सूचनाको हकमा अंकुश लगाएको बिरोधमा कालोपट्टी सहित समाचार संकलन गर्न गएका पत्रकारलाई प्रहरीले दुई घण्टा घेराबन्दी गरेको हो ।
धनकुटा महोत्सव तथा क्षेत्रीय औद्योगिक मेलाको उद्घाटन गर्न धनकुटा आएका प्रधानमन्त्री भट्टराईलाई सूचनाको हकमा अकुंश नलगाउन भन्दै सांकेतिक बिरोधमा उत्रिएका पत्रकारलाई प्रहरीले समाचार संकलनबाट समेत वञ्चित गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को गलत व्याख्या गरी सरकारले १ सय ४० वटा सुचना लुकाउने प्रयास गरेको भन्दै प्रधानमन्त्री सहभागी कार्यक्रममा पत्रकारहरु कालोपट्टी लगाएर उपस्थित भएका थिए ।
कार्यक्रममा कालोपट्टी बाँधेर रिपोर्टिङमा गएका पत्रकारलाई आयोजकले जबरजस्ती बाहिर निकालेको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष मोहन बान्तावाले जानकारी दिनुभयो ।