


चितवन, १६ माघ : नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले सहमति कार्यान्वयन नगरेका कारण शान्ति र संविधान धरापमा परेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो पटक एमाओवादीले सातबँुदे सहमतिलाई कार्यान्वयन नगरेका कारण देशमा राजनीतिक गतिरोध पैदा भएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा देउवाले भन्नुभयो–पार्टीभित्र सम्मानजनक तरिकाले विवाद समाधान गर्नुपर्छ ।
सहमति विपरीत भ्रातृ सङ्गठन विघटन गरिएका कारण पार्टीभित्रको विवाद बाहिर आएको दाबी उहाँले गर्नुभयो । “पार्टी एकीकरण हुँदा भएको सहमति विपरीत भ्रातृ सङ्गठन विघटन भएको छ”– देउवाले भन्नुभयो ।
नेता देउवाले राज्य पुनःसंरचनाका विषयमा दलबीचमा सहमति हुन नसके ७५ वटै जिल्लालाई प्रान्त बनाउनुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“सहमतिमा आउन नसकेर किचलो गरिरहने हो भने ७५ प्रान्त उत्तम हुने छ ।”
संवैधानिक राष्ट्रपति र संसदबाट प्रधानमन्त्री चयन गर्नु उत्तम शासकीय स्वरुप भएको पनि उहाँको भनाइ थियो ।