


चौतारा, १६ माघ : मित्रराष्ट्र चीनका विभिन्न सहरमा नेपाली चेली जोखिमपूर्ण अवस्थामा काम गर्न विवश छन् । राम्रो र सम्मानित काम लगाइदिने प्रलोभनमा केही व्यक्ति वा समूहले किशोरीलाई झुक्याएर विभिन्न क्याबिन रेस्टुराँ, लज तथा डान्सबारमा काम गर्न लगाई फर्कन चाहेर पनि स्वदेश फर्कन नपाएपछि जोखिमपूर्ण काम गर्न विवश भएका हुन् ।
माइती नेपालले तिब्वतको खासा र कुतीमा बसी एक महिनाको अवधिमा गरेको अध्ययनका आधारमा १३७ किशोरीमध्ये ५० प्रतिशत जोखिममा परेको खुलेको हो । त्यसरी लगिएका किशोरीको सम्पूर्ण कागजात तीन महिनासम्म डान्सबारका मालिकले राख्ने गरेकाले बाध्य भएर उतै बस्न परेको माइती नेपालको अध्ययनले देखाएको छ ।
भारतको कोठीबाट फुत्कन सकिने तर चिनियाँ क्षेत्रमा पासबेगर आउन नसकिने र पास लिन भने ज्यादै गाह्रो पर्ने अध्ययनले देखाएको छ । सो क्षेत्रमा जानेमा १३÷१४ देखि ४० वर्ष उमेर समूहसम्मका पाइएको र विशेष गरी तामाङ, गुरुङ, राई र लिम्बूको सङ्ख्या देखिएको छ ।
नेपाली चेलीलाई तीन÷तीन महिनामा चीनको एक सहरबाट अर्काे सहरमा पु¥याउने गरेको पाइएको छ । चिनियाँ प्रहरीको गाडीमा राखेर सजिलै खासाबाट कुती, ल्हासा र केरुङमा समेत लगेर बेचिने गरेको बताइएको छ ।
आइतबार सिन्धुपाल्चोकको चौतारामा आयोजित जिल्लास्तरीय समन्वय बैठकमा माइती नेपालका कार्यक्रम अधिकृत मदन चौलागार्इंले मासिक रु आठ हजारदेखि १५ हजारसम्म पारिश्रमिक पाइने हँुदा भारतको तुलनामा आयस्रोत भने राम्रो पाउने जानकारी दिनुभयो ।
यसरी जानेमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँलगायत र तराई क्षेत्रका समेत १७ जिल्लाका चेली छन् । तीमध्ये सिन्धुपाल्चोकको सीमा क्षेत्रमा पर्ने तातोपानी, लिस्तीलगायत १५ गाविसका चेली धेरै छन् ।
नेपाली चेलीलाई चिनियाँ क्षेत्रमा जोखिमपूर्ण काममा जानका लागि रोक्ने उद्देश्यले माइती नेपालले शुक्रबार कोदारीमा कार्यालय स्थापना गरेको छ भने सीमा क्षेत्रमा परामर्श कक्ष स्थापना गरेको कार्यक्रम अधिकृत चौलागार्इंले जानकारी दिनुभयो ।