


नुवाकोट, १८ माघ : एकीकृत (माओवादी)का महासचिव रामबहादुर थापाले पार्टीभित्रका सबै विवाद अन्त्य भई एकता भइसकेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज त्रिशूलीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता बादलले माओवादीभित्रका विवादहरु नयाँ आधारमा सहमति भई टुङ्गिएको उल्लेख गर्दै एमाओवादीको अबको मुख्य अभियान शान्ति, संविधान र राष्ट्रिय सरकार केन्द्रित हुने बताउनुभयो ।
एमाओवादीले सामन्तवाद र साम्राज्यवादविरुद्ध जनताको संविधान हुनुपर्ने माग गर्दै आएकामा अन्य दलले विरोध सुरु गरेपछि जारी शान्ति प्रक्रिया र नयाँ संविधान लेखनका कार्य ओझेलमा परेको उहाँले बताउनुभयो ।
शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन देशमा संयुक्त सरकारको आवश्यकता रहेको र त्यो सरकारको नेतृत्व एमाओवादीले नै गर्नुपर्ने उहाँको भनाइ छ ।
नेता बादलसहित एक दर्जनभन्दा बढी माओवादी केन्द्रीय नेताहरु यहाँ कार्यकर्तालाई प्रशिक्षण दिन आएका हुन् । दुईदिनसम्म सञ्चालन हुने प्रशिक्षणमा तीन जिल्लाका जिल्ला कमिटी सदस्य, सल्लाहकार सदस्यसहित ६०० जनालाई महासचिव बादलका साथै पोलिटब्युरो सदस्यहरु अग्निप्रसाद सापकोटा, विश्वभक्त दुवाल, केन्द्रीय सदस्यहरु हितबहादुर तामाङ, दिनेश शर्मा, जितवीर लामालगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।