


भक्तपुर, १८ माघ : खाना पकाउने एलपी ग्यास नपाएर अभाव झेलिरहेका उपभोक्तले ग्यास डिलरतर्फ लैजाँदै गरेको भरिएको हिमाल ग्यासको सिलिन्डर नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका छन् । काभ्रेको बनेपाबाट काठमाडौँको विभिन्न ग्यास डिलरमा भरिएका ग्यासका सिलिन्डर लिएर जाँदै गरेको चारवटा टाटा गाडी भक्तपुरको तीनकुने सल्लाघारीमा स्थानीय जनताले सडकबाटै नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका हुन् ।
स्थानीयले बा ५ च ६०५६, बा ५ च ९४३५, बा ८ च ४३२ र अर्को एकवटा गाडीबाट लैजाँदै गरेको ग्यासलाई छ लेन सडकमै कब्जामा लिएर सल्लाघारीमा प्रतिसिलिन्डर रु एक हजार ४०० र रु एक हजार ५०० का दरले करिब २८० वटा ग्यास सिलिन्डर स्थानीयले नै बिक्री गरेका थिए ।
सल्लाघारीका स्थानीय बासिन्दा एवम् नेपाली काँग्रेसका जिल्ला नेता दुर्लभ थापाले स्थानीयले ग्यासको अभावमा खाना खान नपाएको अवस्थामा कम्पनीले कालो बजारी गर्न डिलरकहाँ ग्यास लैजाँदै गरेको देखेपछि आक्रोशित स्थानीयले गाडी नै नियन्त्रणमा लिएर खाली सिलिन्डर लाइनमा राखेर उपभोक्तालाई रु एक हजार ४०० र रु एक हजार ५०० मा ग्यास वितरण गरेको बताउनुभयो ।
करिब दुई हजार खाली सिलिन्डर लिएर आएका उपभोक्ता सबैले ग्यास नपाएपछि त्यस क्षेत्रमा केहीबेर तनाबसमेत भएको थियो । धरै उपभोक्ता ग्यास नपाएर फर्किएका थिए भने ग्यास वितरण गर्दै गरेको थाहापाएपछि दुवाकोट, कटुन्जे, सिपाडोल गाविस, सूर्यविनायक, दूधपाटी, बाराही, सुकुलढोका, बंशगोपालदेखिका उपभोक्ता खाली सिलिन्डर लिएर ग्यास लिन आएका थिए ।
सल्लाघारीको ९९ सय रोपनी जग्गामा राखेर वितरण गरिएको बा८च ४३२ नम्बरको गाडीबाट वितरण गरेको ग्यासमा भने केहीले लुटेरसमेत लगेका छन् । ७० वटा ग्यास वितरण भइरहेको त्यस स्थानमा अन्तिम समयमा आएका केही व्यक्ति अचानक गाडीमा चढेर खाली सिलिन्डर र पैसासमेत नदिई जबरजस्ती ग्यास झिकेर लगेको गाडीका चालक राजाराम भुजेलले बताउनुभयो ।
यस स्थानबाट एकवटा ग्यासको सिलिन्डर लुटेर लगेको र पाँचवटा ग्यासको पैसा नै नदिइ लगेको बताउँदै उहाँले अब कम्पनीलाई यसको क्षतिपूर्ति आफूले तलबबाट तिर्नुपर्ने बताउनुभयो ।