


भद्रपुर, १९ माघ : जिल्ला जनस्वास्थ्य कार्यालय झापालाई झुलअनुसारको घर पाउन भएको कठिनाइले टाउको दुखेको छ । जिल्लामा औलो र कालाजार रोकथामका लागि लामखुट्टेबाट जोगिन खाटलाई छोप्ने झुलमा कतिपय ठाउँमा घर नै अटाउने अवस्था देखिएपछि कार्यालयलाई टाउको दुखाइ भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लीलामणि पौंडेलसमक्ष जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले लामखुट्टेबाट हुने औलो र कालाजार लगायतका रोगबाट जोगिनका लागि वितरित झुलको अतिविपन्न परिवारबाट सदुपयोग गराउनका लागि तिनीहरूलाई घर बनाउन पहल गरिदिन आग्रहसमेत गर्नुभयो ।
कार्यालय प्रमुख भगतले भन्नुभयो– शान्तिनगर गाविसलगायतका कतिपय विपन्न परिवारका घर ससाना हुने र झुलको लम्बाइ, चौडाइ र उचाइले गर्दा घर नै छोपिने अवस्था छ ।
त्यस्ता विपन्न परिवारको शौचालयसमेत नरहेकाले रोग नियन्त्रणका लागि शौचालयको समेत व्यवस्थाको उहाँले माग गर्नुभयो । रासस