


जुम्ला, १९ माघ : डिजेल प्लान्ट चलाएर भए पनि लोडसेडिङ घटाउने सरकारी योजना अहिलेसम्म हावागफमै सीमित छ । बिहान खाए बेलुका के खाऊँ भन्ने समस्यामा रहेका जुम्लाका बासिन्दा भने डिजेल प्लान्टबाट उत्पादित महँगो बिजुुली बालिरहेका छन् ।
नजिकैको जुगाड खोलाबाट उत्पादित २०० किलोवाट क्षमताको विद्युत् सदरमुकाम खलङ्गामै अपुग भएपछि सदरमुकाम नजिकको तलिउम गाउँका बासिन्दा डिजल प्लान्टबाट उत्पादित महँगो बिजुुली बाल्न बाध्य भएका हुन् । बिहान–बेलुकीको हातमुख जोर्नसमेत मुस्किल पर्ने जुम्ली महँगै भए पनि बिजुली बत्ती बाल्न पाएकामा भने दङ्ग छन् ।
जिविसको रु सात, गाविसको रु नौ, उच्च पहाडी गरिबी निवारण आयोजनाको रु पाँच, साना जलविद्युत् उपभोक्ता समितिले रु १६ लाख र जनश्रमदान समेत गरी रु ४४ लाख ४० हजारको लागतमा तलिउममा ५० किलोवाटको जेनेरेटरबाट बिजुली निकालिएको डिजेल प्लान्ट उपभोक्ता समितिका उपाध्यक्ष शिवप्रसाद उपाध्यायले बताउनुभयो ।