


कालीकोट, २० माघ : कालीकोट सदरमुकाम मान्ममा गएराति एक घरमा आगलागी हुँदा १ महिला प्रहरीसहित २ बालकको जलेर मृत्यु भएको छ । स्थानिय अजयबहादुर बमको घरमा राति ११ बजे लागेको आगोबाट कोठामा सुतिरहेका जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत २७ वर्षीया महिला प्रहरी सुनिता परियारको ज्यान गएको हो ।
यस्तै दैलेख कुषापानी ८ घर भई कालीकोट सदरमुकाम मान्ममा रहेको बाल विकास बोडिङ स्कुलमा अध्ययन गरिरहेकी १४ वर्षीया शर्मिला कठायत र सोही विद्यालयमा कक्षा २ मा पढिररहेका उनका ८ वर्षका भाई विमल कठायतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । जिल्लाको मुम्रा गाविसको पोदमारामा रहेको एकमात्र विद्युत पावर हावसमा आएको खराबीका कारण घरमा उज्यालोका लागि बालिएको मैनबत्तीबाट आगलागि हुदाँ घरमा रहेका स्थानिय गैर सरकारी संस्था बढिमालिका प्रगति समाज कालीकोट, कर्णाली दिगो प्रविधि वायो विक्रेट उत्पादन तथा विक्रि केन्द्र, ग्रामिण पर्यटन व्यावसायिक सहकारी संस्था लिमिटेड लगायत पहिलो तलामा संचालन गरिएको केशव बमको दाजुभाई मिलन होटेलसमेत आगलागीबाट क्षति ग्रस्त भएका छन ।
आगो नियन्त्रणका लागि आवस्यक उपकरण नभएकाले राति २ बजेमात्र नेपाली सेना स्थानियबासी र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।