


काभ्रे, २० माघ : नेपाल पत्रकार महासंघ काभ्रेले महासंघका केन्द्रीय पार्षद प्रदिप केसीलाई निलम्बन गर्ने निर्णय गरेको छ । पत्रकार आचारसंहिता उल्लंघन गर्दै पत्रकारमाथि नै आक्रमणको योजना बनाउने, किर्ते जग्गाको विषयमा वार्गेनिङ गर्ने जस्ता महासंघको आचारसंहिता विपरित काम गरेको भन्दै केसीलाई निलम्बनको निर्णय गरिएको हो ।
महासंघका अध्यक्ष महेश पौडेलको अध्यक्षतामा आज बसेको पूर्ण बैठकले अध्यक्ष पौडेलको संयोजकत्वमा माघ २ गते गठन भएको छानबीन समितिको प्रतिवेदनमाथि छलफल गर्दै उक्त निर्णय गरेको हो । आजै बैठकले पार्षद केसीसँग स्पष्टीकरणसमेत लिएको थियो । बैठकमा पार्षद केसीले आफूले मादक पदार्थ सेवन गरेर त्यस्ता कुरा बोलेको भन्दै आत्माआलोचना गरेर माफी मागेका थिए । केही समय अगाडि काभ्रेको पनौतीमा भु माफियाको एक गिरोहले व्यक्तिको जग्गा किर्ते कागजात बनाएर अर्कैको नाममा पास गरेका थिए । सोही विषयमा पत्रकार केसीले जग्गा पास गराउनेहरुसँग गरेको वार्गेनिङको अडियो सिडि सार्वजनिक भएपछि त्यस विषयमा छानबीन गर्न समिति गठन भएको थियो ।
सिडिमा काभ्रेबाट प्रकाशित चेष्टा साप्ताहिकमा कार्यरत पत्रकारलाई आक्रमण गर्ने लगायतका विषयहरु पनि उल्लेख गरिएको थियो । पत्रकार केसी काभ्रेबाट प्रकाशित मध्यमार्ग साप्ताहिकका प्रकाशक÷सम्पादक हुन् ।