


परासी, २१ माघ : नवलपरासीमा रहेको एकीकृत नेकपा (माओवादी) जनसेना चौँथो डिभिजनअन्तर्गतका घाइते र पूर्णरूपमा अशक्त अपाङ्ग लडाकुले थप नयाँ योजना नल्याइए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आफूहरू बाध्यात्मक परिस्थितिका कारण मात्र स्वेच्छिक अवकास रोज्न बाध्य भएको बताउँदै उनीहरूले थप नयाँ राहतको प्याकेज नल्याइए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
माग पूरा नभएसम्म शिविर नछाड्ने सोही डिभिजनमा रहेका अपाङ्ग लडाकु एवम् जनक्रान्ति घाइते तथा अपाङ्ग योद्धा सङघका पश्चिमाञ्चल क्षेत्रीय सदस्य टीकाराम घर्तीमगरले बताउनुभयो ।
चांैँथो डिभिजन मुख्यालयसहित सहायक शिविरहरू नवलपरासीको हात्तिखोर, जर्गाह र रुपन्देहीका सैनामैनामा गरी पूर्णरूपमा अशक्त करिब १८ जना र विभिन्न किसिमका ५ सय जना लडाकु अपाङ्ग रहेको उहाँले जानकारी दिनुभयो ।
ती लडाकुहरूले घाइतेलाई उपचार, पूर्णरूपमा अशक्त अपाङ्ग लडाकुलाई गास–बास–कपास, कृत्रिम अङ्ग, सम्मानपत्र, अपाङ्ग लडाकुका छोराछोरीलाई निःशुल्क शिक्षा र आफन्तलाई रोजगारीको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।
चौँथो डिभिजन मुख्य शिविरका देवीलाल घर्तीले अपाङ्ग र पूर्णरूपमा अशक्त अपाङ्ग भएका लडाकुका मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताउनुहुन्छ ।
यस्तै आफ्ना माग पूरा नभए सेना समायोजना प्रक्रिया रोक्ने चेतावनी दिनुहुन्छ डिभिजन कम्पनी सहकमाण्डर रुपश्री परियार । रासस