


ललितपुर, २१ माघ : ललितपुरको बालकुमारी क्षेत्रमा वितरित पानी पिउन नहुने अवस्थामा रहेको देखिएको छ ।एक महिनाअघि गैसस मञ्चको सक्रियतामा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) ले सो क्षेत्रमा गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । नेवाः राजनीतिक अभियान, ललितपुर नागरिक अभियान र बालकुमारी संरक्षण तथा सुधार समितिको संयुक्त आयोजनामा भएको ललितपुरको बालकुमारी क्षेत्रमा खानेपानीको अवस्थाबारे गरिएको अन्तक्र्रियामा योे कुराको जानकारी गराइएको हो ।
अनुसन्धानबाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ललितपुर शाखाबाट वितरित पानीमा अत्यधिक मात्रामा एमोनिया रहेको भेटिएको थियो ।
पानीमा रहेको एमोनिया प्रशोधनबाट पनि पिउनयोग्य बनाउन नसकिने विज्ञहरुको भनाइ छ । सो क्षेत्रमा केयुकेएलले बोरिङबाट निकालेको पानी पाइपलाइन मार्फत् वितरण गर्दै आइरहेको छ ।
कार्यक्रममा केयुकेएलका प्रमुख प्रयागलाल जोशीले मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आउनुअघिको विकल्पको खोजी भइरहेको उल्लेख गर्दै पानीको समानुपातिक वितरणका लागि केयुकेएल प्रयासरत रहेको बताउनुभयो ।
उक्त क्षेत्रमा वितरण गरिएको पानी पिउनै नसकिने अवस्थामा रहेको भए पनि स्थानीयवासी त्यही पानीमा निर्भर हुनपरेको छ । त्यस क्षेत्रमा पाँच दिनमा एकचोटि आधा घन्टा पानी आउने गरेको स्थानीयवासी बताउँछन् ।