


सुनसरी, २१ माघ : सुनसरी जिल्लामा ठूलो संख्यामा कुखुरा मरेपछि बर्डफ्लुको आशंकामा चिकित्सकहरुको विशेष टोली परिचालन गरेर अनुसन्धान थालिएको छ । सुनसरीको खनारस्थित पाथीभरा पोल्ट्री फर्म र इटहरीस्थित पिके पोल्ट्री फर्मका कुखुरा भटाभट मर्न थालेपछि चिकित्सकहरुले स्वास्थ्य परिक्षण र सतर्कता बढाएका हुन् ।
रोग पत्ता लगाउन एक हप्ताअघि नै नमुना टेकुस्थित केन्द्रीय प्रयोगशाला हुँदै बेलायत पठाएको भएपनि नतिजा आउन ढिलाइ हुँदा अन्यौल बढेको छ । सुनसरीका दुई फर्ममा गरी हालसम्म चार हजार भन्दा बढी कुखुरा मरिसकेका छन् । सिउर कालो हुने, आँखामा पिप आउने र झोक्राएर कुखुरा मर्ने क्रम तीव्र बनेको कुखुरा पालक किसानको भनाई छ । रोगको पहिचान नहुँदा रोग नियन्त्रण गर्न तथा फैलिनबाट रोक्न समेत गाह्रो भएको चिकित्सकहरुले बताएका छन् ।