


काठमाडौँ, २१ माघ : नेपाल वायुसेवा निगमको जहाज नभएर उडानमा समस्या आए पनि निजी क्षेत्रबाट भने जहाज ल्याएर उडान गर्ने प्रतिस्पर्धा पछिल्लो समयमा वृद्धि भएको छ । यसै क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक उडानका लागि ब्लु एयरवेज प्रालिलाई लाइसेन्स (हवाई इजाजतपत्र) दिने तयारी गरेको छ ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार ब्लु एयरबेजलाई आन्तरिक उडानका लागि लाइसेन्स दिने तयारी भएको छ ।
‘हामीले सबै अध्ययन ग¥यौँ, अध्ययनका आधारमा नै सो एयरलाइन्सलाई उडान अनुमति दिन लागिएको हो’ सहसचिव आचार्यले भन्नुभयो’–मन्त्रालयले आवश्यक अध्ययन र धरौटी रकम तथा जहाजको प्राविधिक तथा अन्य अवस्थाको आधारमा लाइसेन्स दिन लागेको हो ।’
काठमाडाँै, विराटनगर, पोखरा, धनगढी, नेपालगन्ज, सिमरालगायतका सुगम क्षेत्रमा उडान गर्ने गरी सो एयरवेजले दुईवटा एटीआर र दुईवटा बीचक्राफ्ट जहाज ल्याउने उल्लेख गरेको सहसचिव आचार्यले बताउनुभयो ।
यसअघि आन्तरिक उडानको लाइसेन्स पाइसकेका हाम्रो एयर सर्भिल प्रालि, आकाश भैरव र सुफ्टि एयर सञ्चालनमा नआउँदै ब्लु एयरलाई मन्त्रालयले लाइसेन्स दिन लागेको हो ।
हालसम्म बुद्ध एयरले एटीआर र वीचक्राफ्ट दुवै जहाज सञ्चालन गर्दै आउनुका साथै गुण एयर र अग्नी एयरले पनि वीचक्राफ्ट जहाज सञ्चालन गरिरहेका छन् ।
पहिला लाइसेन्स दिएकाले उडान नगर्दै फेरि किन अरुलाई लाइसेन्स दिन लाग्नुभएको त भन्ने प्रश्नमा सहसचिव आचार्यले भन्नुभयो–‘उडान नगर्ने र लाइसेन्स मात्रै ओगटेर बस्नेहरूको लाइसेन्स जफथ गरिन्छ तर जहाज ल्याउँछु उडान गर्छु भनेर मन्त्रालयमा निवेदन दिएपछि हामीले अध्ययन गरेर लाइसेन्स त दिनै पर्दछ ।’
आन्तरिक उडानका लागि लाइसेन्स प्राप्त गर्न रु २० लाख धरौटी राखी कम्पनीको विस्तृत व्यवसायिक योजना मन्त्रालयको आवश्यकता अनुरुप प्रतिवेदनमा उल्लेख गरेको हुनुपर्ने व्यवस्था छ ।
लाइसेन्स प्राप्त पूर्व विमान सञ्चालनका लागि रु १५ करोड बराबरको सम्पत्ति देखाउनु पर्ने व्यवस्था मन्त्रालयको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि मन्त्रालयले सार्वजनिक सूचना गर्नुपर्ने प्रावधान रहेको छ । तर आन्तरिक उडानमा प्रयोग हुने जहाजका लागि भने यो प्रावधान बाध्यकारी हुने छैन ।
सहसचिव आचार्यका अनुसार आन्तरिक उडानका लागि इच्छुक कम्पनीले निवेदन दिए पुग्ने कानुनी व्यवस्था अनुसार नै काम अगाडि बढाइएको हो ।
एयरवेजको प्रतिवेदन मूल्याङ्कनका लागि मन्त्रालयका सहसचिव सुरेश आर्चायको संयोजकत्वमा चार सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको छ ।
हवाई नीति २०६३ अनुसार ब्लु एयरवेजको मूल्याङ्कन गर्दा आवश्यक विषय पुगेका छन्, त्यही आधारमा लाइसेन्स दिने कार्य अन्तिम चरणमा पुगेको आचार्यले बताउनुभयो ।
उहाँका अनुसार सो एयरलाई राजधानी बाहिर वेश हुने गरी लाइसेन्स दिने तयारी भएको छ ।
राजधानीमा विमानको चाप रहने भएकाले पोखरा वा विराटनगर आधार रहने गरी सञ्चालन अनुमति दिन लागिएको छ ।
सञ्चालनमा रहेका एयरलाइन्स कम्पनीलाई राजधानी बाहिर वेश तोकिए पनि सो व्यवस्था अहिलेसम्म कार्यान्वयन भएको देखिदैन ।
एक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान चाप बढ्दै जादा पार्किङ तथा सुरक्षा जोखिम बढ्दै गएको छ । विमान तथा हवाई यात्रु बढ्दै जानु र विमानस्थल तथा आवश्यक पूर्वाधार घट्दै जानुले एयरलाइन्स कम्पनी राजधानी केन्द्रीत हुन बाध्य भएको अवस्था छ ।
लाइसेन्स पाएको एक वर्षभित्र नागरिक उड्डयन प्राधिकरणबाट एओसी (एयर अपरेटरर्स सर्टिफिकेट) लिइसक्नु पर्ने र त्यसको एक वर्षभित्र उडान सञ्चालन गरिसक्नु पर्ने हवाई नीति छ ।
एओसी प्राप्तिसँगै आन्तरिक उडानका सुगम तथा दुर्गम उडानका लागि एयरलाइन्स कम्पनीले रुट शुल्क तिर्नुपर्छ । प्रत्येक रुट सुगमतर्फ ३० हजार र दुर्गमका लागि प्रति रुट २० हजार शुल्क प्राधिकरणले तोकेको छ ।
हालसम्म ६८ विमान कम्पनीले प्राधिकरणबाट एओसी पाएपनि ३२ वटा मात्रै सञ्चालनमा छन् ।
यस अघि अन्तर्राष्ट्रिय उडानका लागि भगवान बुद्ध एयरबेजले मन्त्रालयबाट लाइसेन्स प्राप्त गरेको छ ।
गैर आवासीय नेपालीहरूको लगानी रहने सो एयरबेजका मुख्य सञ्चालकमा भने व्यवसायी शिशिर भट्ट रहनु भएको छ ।
भट्टले भन्नुभयो–‘जहाज ल्याउने अन्तिम तयारी गरिहेका छौ, आगामी तीन महिनाभित्र तीनवटा वोइङ भाडामा ल्याएर उडान सुरु गर्ने तयारी भइरहेको छ ।’ रासस