


सुनसरी, २३ माघ : सुनसरी र इलामका केहि पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु रहेको पुष्टि भएपछि बाँकी रहेका जिउँदा र मरेको कुखुरालाई आजदेखि खाल्डो खनेर पुर्न थालिएको छ । बर्डफ्लु पुष्टि भएको खनारमा कुखुरा मार्नका लागि क्षेत्रीय पशु रोग अन्वेषण कार्यालय बिराटनगरका प्रमुख सहितको टोली खटिएको छ ।
सुनसरीको इटहरी र खनारका दुई वटा पोल्ट्री फर्म तथा इलामको करफोक — २ मा कुखुरा मरेपछि बेलायत पठाएको नमुनाको रिपोर्ट हिजो आएको थियो । बर्डफ्लु भेटिएको कुखुरा नष्ट गरे बापत सरकारले प्रतिगोटा १ सय ३० रुपैया क्षतिपुर्ति दिनेछ । सुनसरी र इलाममा बर्डफ्लु फैलिएका कारण पत्ता लागि नसके पनि कुखुरालाई खुवाइने दाना, जंगली चराचुरुगी, स्थानीय जातको कुखुरासँगै भारत र बगलादेशबाट ल्याउने पन्छी बाट सरेको अनुमान गरिएको छ । यसैबिच बर्डफ्लु पुष्टि भएपछि खनारमा रहेका निजी स्कुलहरु पनि दुई दिनका लागि बन्द गरिएको छ ।