


भद्रपुर, २३ माघ : झापाको हल्दीबारीस्थित उच्च माध्यमिक विद्यालयकी एक छात्राको हत्या भएको चार दिन बित्दा पनि हत्यारा पत्ता नलागेकामा विद्यालयले चिन्ता व्यक्त गरेको छ । विद्यालयका अध्यक्ष रेवतीरमण नेपाल, अभिभावक सङ्घका अध्यक्ष नरबहादुर बस्नेत र प्राचार्य यामकुमार सिटौलाले संयुक्तरुपमा विज्ञप्ति जारी गरी कुनै बहानामा दोषीलाई उन्मुक्ति दिइएमा विद्यालय सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
सोही गाविस– ८ बस्ने कक्षा सातमा अध्ययनरत १३ वर्षीया सावित्रा राजवंशीको यही माघ १९ गते आफ्नै घरनजिकको चियाबारीमा बलात्कार गरी हत्या गरिएको बताइएको छ । उक्त घटनाले गर्दा सो क्षेत्रका विद्यालयका साथै गाउँमा आतङ्क छाएको छ ।
प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले अनुसन्धान तीव्र गतिमा भइरहेको र घटनामा संलग्न व्यक्तिलाई चाँडै पक्राउ गरिने बताउनुभयो ।
शव परीक्षणको रिपोर्ट आज आउने सम्भावना रहेको बताउँदै उहाँले शङ्कामा रहेका व्यक्तिमाथि कडा निगरानी भइरहेको छ भन्नुभयो ।