


हेटौँडा, २३ माघ : हेटौँडा सिमेन्टको आगो बाल्ने भट्टीमा नयाँ अत्याधुनिक इँटा जडान एवम् अन्य उपकरणको मर्मतसम्भार गरेपछि आज दिउँसोबाट सिमेन्टको पुनः उत्पादन सुरु गरिएको उद्योग व्यवस्थापनले जनाएको छ ।
सो उद्योगको आगो बाल्ने बढी तापक्रमकोृ भट्टीमा विद्युत् लोडसेडिङको समस्याले तापक्रम घट्न जाँदा आगो बाल्ने भट्टीमा अत्याधुनिक इँटा भत्किनुका साथै अन्य उपकरण पनि बिग्रेर करिब तीनहप्तादेखि उद्योगको उत्पादन कार्य बन्द भएको सो उद्योगबाट थाहा भएको छ ।
भारतको विभिन्न सहरबाट प्राविधिक र नयाँ अत्याधुनिक इँटा झिकाई तत्काल मर्मतसम्भार गराउँदा केही हप्ता ढिलाई हुन पुगेको सो उद्योगका व्यवस्थापनले जनाएको छ ।
यसैबीच, सिमेन्ट उत्पादन कार्यको लागि आवश्यक इन्धन कोइला करिब सातहजार मेट्रिक टन भारतबाट ढुवानी गरी ल्याउने कार्य भइरहेको र दोस्रो चरणमा जम्मा १० हजार मेट्रिक टन थप कोइला ल्याउनेतर्फ कानुनी प्रक्रिया सुरु गरिसकेको उद्योगका महाप्रबन्धक रमेशकुमार अर्यालले राससलाई बताउनुभयो ।