


चितवन, २४ माघ : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले चलाएको गोली लागेर निकुञ्ज भित्र एकजनाको ज्यान गएको छ । गोली लागेर पिप्ले २ का रेशम चेपाङको ज्यान गएको हो । काठ तस्करीको लागि निकुञ्जभित्र पसेको पाँचजनाको समूहलाई रोक्ने प्रयास गर्दा उनीहरुले गस्ती टोलीमाथि ढुंगा हानेर भाग्न खोजेकाले गोली चलाउनु परेको निकुञ्ज स्रोतले जानकारी दिएको छ ।
गस्ती टोलीले पिप्ले २ कै रामकृष्ण चेपाङलाई पक्राउ गरेको छ भने अरु तीनजना भागेका छन् । निकुञ्जको पूर्वी भागमा रहेको लिगलिगे क्षेत्र काठ तस्करीका लागि संवेदनशील क्षेत्र रहेकाले गस्ती टोलीले निगरानी बढाएको र गएराती उनीहरुलाई फेला पारेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो ।