


हेटौंडा, २४ माघ : मकवानपुरको बसामाडी ५ मा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपालले मजदुरहरुको माग सम्वोधन गर्न नसकिने बताएको छ । मजदुरका मागहरु अति महत्वाकाक्षीं, अनुचित एवम् असान्दर्भिक भएकोले पुरा गर्न नसक्ने उद्योगले हिजो विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ । औसत मजदुरलाई सरकारको विद्यमान राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीको भन्दा पनि बढी सुविद्या दिइएको जनाउदैं आकर्षक सुविद्या हुदाँ समेत आन्दोलन भइरहेको प्रति उद्योगले गुनासो गरेको छ ।
उद्योगमा कार्यरत करिब १ सय १५ कामदारका प्रतिनीधि र व्यवस्थापनबीच पटकपटक सम्वाद भएर तलबभत्ता र सुविद्या वृद्धि गरेको थियो । उद्योगले सन् २००९ यता कम्पनिको खुद मुनाफाको वृद्धि ३७ प्रतिशत रहेको सन्दर्भमा समेत कामदार कर्मचारीको तलबभत्तामा ६९ प्रतिशत वृद्धि गरिएको विज्ञप्तिमा उल्लेख छ । उद्योग बन्द हुदाँ लक्स, लाइफव्बाय साबुन, क्लोज अप तथा पेप्सीडेन्ट टुथपेस्ट जस्ता उत्पादन उत्पादक उद्योगले प्रतिदिन कम्तिमा ४० लाख रुपैंया क्षति ब्योहोरिरहेको छ । उद्योगले २०६७÷६८ मा मात्र नेपाल सरकारलाई ७६ करोड ४० लाख राजस्व बापत बुझाएको छ । उद्योगीहरुको छाता संगठन मकवानपुर उद्योग बाणिज्य संघ र उद्योग संघ हेटौंडाका साथै एकिकृत माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले उद्योग सुचारु राखेर छलफलमार्फत सहमति खोज्नुपर्ने बताएका छन् ।