


काठमाडौं, २५ माघ : शान्ति र संविधान लेखनमा बाँकी विवादित विषयहरुमा सहमति खोज्नका लागि आज तीन दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । आपसी समझदारी हटाएर शान्ति र संविधानसँगै अरू राजनीतिक विषयवस्तुहरूमा पनि प्याकेजमा सहमति खोज्न नेताहरूले आजदेखि घनिभूत छलफल थाल्ने भएका हुन् ।
बैठक काठमाडौंको गोकण रिसोर्टमा अहिले केहीबेरमा सुरु हुने नेताहरूले बताएका छन् । अहिले नेताहरू रिसोर्टमा पुग्ने क्रम जारी छ । यसअघि भएका सातबुँदे र ६ बुँदे सहमतिका आधारमै छलफल हुने काङ्ग्रेस संसदीय दलका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले सीआईएनलाई जानकारी दिनुभयो । मुख्य दलहरूबी कात्तिक १५ गते सातबुँदे र मङ्सिर १३ गते ६ बुँदे सहमति भएको थियो । सहमतिहरु कार्यान्वयन गर्न सत्ताको नेतृत्व गरिरहेको दल एकीकृत नेकपा माओवादीले आनाकानी गर्दै आएको भन्दै काङ्ग्रेस र एमाले शीर्ष नेताहरूको दुई दिनअघि बसेको बैठक कार्यान्वयनका लागि एकसाताको समयसीमा दिएको थियो । सहमति कार्यान्वयन गर्न दिइएको समयसीमा, लडाकु बिदाईका क्रममा दिइएको चेकको रकम कब्जासम्बन्धी विषयमा पनि छलफल कुरा उठाइने घिमिरेले जानकारी दिनुभयो । जनसत्ताको कारोबारलाई वैधता दिने सरकारले निर्णय गरेपछि सत्तारुढ दल माओवादीसँग काङ्ग्रेस र एमालेको दुरी बढ्दै गएपछि संविधान लेखनको प्रक्रियामा समेत असर परिरहेको छ । राज्यको पुनःसंरचना, न्यायप्रणाली, शासकीय स्वरुप जस्ता मुख्य विषयहरूमा सहमति जुट्न नसक्दा संवैधानिक समितिको बैठकहरू पनि औपचारिकतामा सीमित हुने गरेका छन् । सबै विषयमा छलफल गरी निर्णायक सहमतिका लागि प्रयत्नस्वरुप बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।
यसैबीच तीन दलको बैठकमा पार्टी र सरकारको तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा आज बिहानै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच छलफल भएको छ । उहाँहरूबीच प्रचण्ड निवास लाजिम्पाटमा छलफल भएको हो ।