


काठमाडौं, २५ माघ : लामो समयदेखि जारी संसद गतिरोध फुकाउन बसेको तीनदलको बैठक नसकिएका कारण व्यवस्थापिका संसदको आजका लागि निर्धारित बैठक सूचना टाँसेर स्थगित भएको छ । संसदका महासचिव मनोहर भट्टराइले सूचना प्रकाशित गरी विशेष कारणवस बैठक स्थगित गरिएको जानकारी गराउनु भएको हो ।
माओवादी जनसत्ताले गरेका निर्णयलाइ वैधानिकता दिने सरकारी निर्णय खारेजीको माग गर्दै विपक्षी दलले यसअघि लगातार आठ पटकसम्म संसद अवरुद्ध गरेका थिए । संसदको आर्को बैठक भोली दिउँसो तीन बजे बस्नेछ । यस्तै नेकपा एमाले पोलिटब्यूरोको आजदेखि सुरु हुने भनिएको बैठक पनि नेताहरुको व्यस्तताका कारण स्थगित भएको छ । फागुन २१ गतेदेखि सुरु हुने प्रतिनिधि परिषद्को बैठकको तयारीका विषयमा छलफल गर्न पोलिटब्यूरो बैठक बस्ने तयारी थियो । प्रमुख तीन दलको महत्वपूर्ण बैठक जारी रहेकाले बैठक स्थगित गर्नुभएको एमाले नेता रघुजी पन्तले बताउनुभयो ।