


कोलम्बो, २५ माघ : करिब तीन सातासम्म जारी रहेको आन्दोलनपछि हिजो अकस्मात् त्यहाँका राष्ट्रपति मोहमद नशिदले राजिनामा दिएपछि त्यहाँ राजनीतिक उथलपुथल सुरु भएको समाचार छ । कमै मात्र राजनीतिक समाचार आउने गरेका दक्षिण एसियाको एक राष्ट्र मालदिभ्समा हिजो विरोधका लागि प्रहरी नै आन्दोलनमा उत्रिएपछि राष्ट्रपतिले राजिनामा दिनुभएको थियो ।
सो राजिनामा पछि पनि प्रहरीको विद्रोहका विषयलाई लिएर विभिन्न अड्कलबाजी गरिएका र जसका कारण पूर्व सरकार र उसका कार्यकर्तालाई नै तारो बनाइन सक्ने सम्भावना बढेको छ ।
सोही सम्भावनाका बीच राष्ट्रपतिको दलका कार्यकर्ता एवम् उहाँको दलमाथि नै प्रतिशोध साँध्नसकिने भन्दै त्यसो नगर्न विश्व मानावअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले जनाएको छ ।
आज एक विज्ञप्तिमार्फत सो संस्थाले हिजोमात्र राजिनामा दिनुभएका राष्ट्रपति मोहमद नसिबको दल र सो दलका कार्यकर्तालाई तारो बननाउन चेतावानी दिएको छ ।
तीन सातासम्म राजनीतिक उथलपुथलपछि प्रहरीको विद्रोहका कारण प्रजातान्त्रिक रुपमा निर्वाचित राष्ट्रपति मोहमद नशीदले मङ्गलबार राजिनामा दिनुभएको हो ।
आफूले राजिनामा दिँदा नै देशलाई निकास हुन्छ भने आफू त्यसका लागि तयार भएको भन्दै उहाँले राजिनामा दिएको जानकारी उहाँले हिजै राष्ट्रिय टेलिभिजनमार्फत गराउनुभएको थियो ।
‘‘मैले राजिनामा दिँदा नै मुलुकका लागि राम्रो हुनेछ र म मुलुकलाई स्वतन्त्र राख्न चाहन्छु उहाँले भन्नुभएको छ । मङ्गलबार बिहानै विद्रोही प्रहरी अधिकारीले सरकारविरुद्ध प्रदर्शन गरेका थिए ।
राजधानी मालेमा गत तीन सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो । यसपछि उनीहरूले राज्यद्वारा सञ्चालित टेलिभिजनलाई नियन्त्रणमा लिई उहाँको विरोधमा कार्यक्रम प्रसारण पनि गर्न थालेका थिए ।
सुरुमा आन्दोलनमा नागरिक उत्रिएका र पछि त्यहाँका राष्ट्रिय प्रहरी सङ्गठनकै अधिकारी नै आन्दोलनमा उत्रिएका कारण राजिनामा दिनका लागि राष्ट्रपतिलाई नै बाध्य पारिएको थियो ।
यसअघि करिब ४२ वर्ष शासन गरेका पूर्व राष्ट्रपति मौमन अब्दुल गैयुमको सरकारसँग निर्वाचन लडेका वर्तमान राष्ट्रपति नशिदले स्पष्ट बुहमत ल्याएर सत्तामा आउनु भएको थियो ।
यो विद्रोह पछि उहाँको सरकारका कार्यकर्ता एवम् उहाँको दललाई नै कारबाही गर्न खोजेको आशङ्का गरिएको छ ।
जसका कारण वर्तमान विद्रोह पनि अझै केही समय चल्नसक्ने र यसले खतरा उत्पन्न पनि गर्नसक्ने अनुमान सर्वत्र गरिएको छ ।
यही अनुमानका कारण एम्नेष्टी इन्टरनेसनल वर्तमान राष्ट्रपतिका कार्यकर्तालाई कारबाही गर्ने काुनैपनि काम नगर्नका लागि माल्दिभ्सको वर्तमान शासनलाई चेतावानी दिएको छ ।
सो संस्थाले भनेको छ कि राष्ट्रपति नशिदको राजनीतिक दलका कम्तीमा पनि तीनजना केन्द्रीय सदस्यलाई मङ्गलबारै प्रहरी र प्रतिपक्षी दलहरुका कार्यकर्ताले नियन्त्रणमा लिइ कुटपिट गरेका थिए ।
त्यहाँका पूर्व राष्ट्रपति मौमुन अब्दुल गैयुमबाट नै सो विद्रोहका लागि मलजल गरिएको आरोप राष्ट्रपति नशिदको दलले लगाएको पनि समाचारमा उल्ल्ेख छ ।
माल्दिभ्समा सन् २००८ मा भएको राष्ट्रपति पदको निर्वाचनमा नशीदले गैयुमलाई पराजित गर्नुभएको थियो । यो नै मालदिभ्सको ईतिहासमा भएको पहिलो प्रजातान्त्रिक निर्वाचन हो ।
गत महिना राष्ट्रपति नशीदले फौजदारी अदालतका मुख्य न्यायाधीश अब्दुल्लाह मोहमदमाथि प्रतिपक्षी नेताहरूलाई सहयोग गरेको आरोपमा पक्राउ आदेश दिएपछि त्यहाँ अन्दोलनको विजारोपण भएको हो ।
उता अर्काे दल धिभेही क्वामीले राष्ट्रपति नशीद यहुदी र क्रिस्चियनहरूको प्रभावमा परेको आरोप लगाउँदै सेनालाई उहाँलाई पक्राउ गर्न र उहाँमाथि भ्रष्टाचार तथा शक्ति दुरुपयोगको आरोपमा कारवाही गर्न माग गरेको छ ।
पूर्व राष्ट्रपति गैयुमको नेतृत्वमा रहेको प्रमुख प्रतिपक्षी दल प्रोग्रेसिभ पार्टीले नशीद हाल घरमा रहनुभएको र उहाँलाई अन्य व्यक्तिसँग सम्पर्क गर्न दिइएको बताएको छ ।
माल्दिभ्स दक्षिणी एसियाली एक सानो राष्ट्र हो र हिन्द महासागरमा अवस्थित यो देशमा करिब एक हजार १९२ वटा द्वीपहरू छन् । यसको अर्थतन्त्र पर्यटनमा आधारित छ ।
हिजो मात्र राजिनामा दिनुभएका राष्ट्रपति नशीद साधारण जिवन व्यतित गर्ने एक सामान्य नागरिकका हैसियतबाट राजनीति सुरु गर्नुभएको हो ।
तत्कालिन निरङ्कुश गैयुम शासनको विरोध गरी राजनीतिमा आउनुभएका उहाँलाई गैयुमका समर्थकहरुले नै सत्ताच्यूत गर्न बाध्य पारकोे बताइएको छ ।
एम्नेष्टी इन्टरनेसनलले नशिदलाई जेलहाल्ने काम नगर्न तथा कानुनको शासनको अबलम्बन गर्न पनि मालदिभ्सको वर्तमान शासकहरुलाई आग्रह गरेको छ ।