


काठमाडौं, २५ माघ : एमाले भातृ सङ्गठन युवा सङ्घले राज्यकोषबाट वाइसिएललाई पैसा दिए त्यसको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। बुधबार सङ्घका अध्यक्ष महेश बस्नेतले माओवादी नेताका सक्कली बडीगार्ड वाइसिएललाई राज्य कोषबाट रकम दिन खोजिएको भन्दै प्रतिकारको धम्की दिएका हुन्।
गत २३ र २४ गते युवा सङ्घ नेपाल स्थायी कमिटीको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले दश वर्षे जनयुद्धका सक्कली लडाकुलाई माओवादीका नेताहरुको बडिगार्ड बनाएर नक्कली लडाकुहरुको चेक र परिचयपत्र खोस्नु माओवादीको सक्कली रुप भएको दाबीसमेत गरे।
उनले सरकार र वाइसियल आफैं धामी, आफैं बोक्सीको रुप धारण गरेर राज्य कोषको रकम झ्वाम पार्ने दाउमा रहेको दाबी गर्दै युवा सङ्घले दुरुपयोग भएको रकमको एक/एक हिसाव माग्ने चेतावनी पनि दिए।