


काठमाडौं, २५ माघ : माओवादी जनसत्ताले गरेको कारोवारलाई बैधता दिने निर्णय फीर्ता गरेपछिमात्र अन्य बिषयमा छलफल गर्ने विपक्षी कागे्रस एमालेको अडानका कारण तीनदलका शीर्ष नेताको बैठक ठोस सहमति विना सकिएको छ । सरकारले जनसत्तासम्बन्धी निर्णयलाई पुनःविचार गर्ने भएपछि आजको बैठकले मन्त्रीपरिषदको निर्णय पर्खने भएकाले ठोस उपलब्धीमूलक हुन सकेन ।
गोकर्ण रिसोर्टमा बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस–एमालेले मन्त्रीपरिषद् बैठकको निर्णय फिर्ता लिनुपर्ने अडान राखेपछि गतिरोध अन्त्य र संसद् अवरोध खोल्नका लागि प्रधानमन्त्रीले निर्णयका बारेमा मन्त्रीपरिषद्ले निर्णय पुनःविचार गर्ने बचन दिएको हो । भोलि मन्त्रीपरिषद् बैठक बस्दैछ । तीन दलको अर्को वार्ता पनि भोलि नै मन्त्रीपरिषद्को निर्णयपछि मात्रै हुने प्रतिपक्षी दलका नेताहरुको भनाइ छ । तीन दलको बैठकमा स्वेच्छिक अवकाश रोजेका जनसेनालाई दिइएको बाटो खर्च र चेक खोसिएको सम्बन्धमा छानविन गर्नका लागि आइतबार नै सेना समायोजन विशेष समितिको बैठक समेत बोलाउने सहमति भएको छ ।
दलहरुबीच शान्ति र संविधानको छलफलमा भने खासै प्रगति हुन सकेन । बैठकपछि माओवादी सचिव सिपी गजुरेलले जनसत्ताको कारोवारलाई बैधता दिने सरकारी निर्णयमा सवैको आ– आफ्नै अडान लिएको र मन्त्रीपरिषदले सवैलाई मान्य हुने प्रस्ताव आएपछि पुनः छलफल हुने जानकारी दिनुभयो ।