


काठमाडौं, २५ माघ : सयुक्त राष्ट्रसंघले सहश्राब्दी विकास लक्ष्यको समीक्षा नेपालबाट सुरु गरेको छ । काठमाण्डुमा आज गरिएको कार्यक्रममा सहश्राब्दी विकास लक्ष्यले लिएका योजना पुरा भए नभएका विषयमा समीक्षा भएको छ । राष्ट्रसंघको नेपाल कार्यालयले गरेको कार्यक्रममा सभासद र विज्ञहरुले सरकारले सहश्राब्दी विकास लक्ष्यले लिएका योजना पुरा गर्न सरकारले चासो नदिएको टिप्पणी गरेका छन् ।
भोकमरी अन्त्य गरिवी निवारण, सबैका लागि शिक्षा, एचआईभी नियन्त्रण जस्ता आठवटा विषयमा लिएको लक्ष्य पुरा हुने दिशामा अघि नबढेको सभासदहरुले गुनासो गरेका थिए । सभासद रविन्द्र अधिकारी, राजमणी महर्जनले सरकार र सरोकारवाला निकायले अझ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमका सहभागिहरुले सहश्राब्दी विकास लक्ष्यले लिएका योजनामामा खाद्यान्न, ईन्धन अभाव जस्ता विषय पनि थप गर्नुपर्ने बताएका थिए । २००१ मा लिएको सहश्राब्दी विकास लक्ष्यमा विश्वका १ सय ८९ राष्ट्रहरु मिलेर सबैका लागि शान्ति सुरक्षा र विकासको उद्देश्य सहित सहश्राब्दी विकास लक्ष्य हासिल गर्ने सहमति जनाएका थिए । त्यसमा नेपाललले पनि हस्ताक्षर गरेको छ ।