


काठमाडौँ, २५ माघ : जलविद्युत् लगानी तथा विकास कम्पनीले व्यवस्थापन प्रमुख छनौटको विद्यमान प्रक्रिया परिमार्जन गरी नयाँ विज्ञापनमार्फत प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने तयारी गरेको छ । पटक–पटक विज्ञापन गरी प्रमुख कार्यकारी अधिकृतका लागि आह्वान गर्दा पनि कम्पनीले चाहेको योग्य व्यक्तिको दरखास्त पर्न नसकेपछि कम्पनीले विनियमावली परिवर्तन गरी नयाँ विज्ञापन गर्ने तयारी गरेको हो ।
कम्पनीका व्यवस्थापक संयोजक एजेन्द्रप्रसाद लुईंटेलले चार पटकसम्म कम्पनीले विज्ञापन गर्दा पनि कम्पनीलाई आवश्यक पर्ने योग्य व्यक्तिको उम्मेद्वारी नपरेको बताउनुभयो ।
कम्पनीले असोज ३ मा प्रथमपटक बैंक तथा वित्तीय संस्थामा सात वर्ष प्रमुख कार्यकारी पदमा रही काम गरेको र व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर तह प्रथम श्रेणीमा उत्तिर्ण गरेको हुनुपर्ने उल्लेख गरेको थियो ।
सोही प्रावधानअनुसार कम्पनीले पुस १४ गते चौथोपटक विज्ञापन गरेको थियो ।
संयोजक लुईंटेलले अब कम्पनीसँग सरकारले पछिल्लो समयमा सार्वजनिक संस्थान निर्देशन बोर्डले तय गरेको निर्देशनअनुसार कर्मचारी विनियमावली परिवर्तन गरेर अर्को विज्ञापन आह्वान गरिने जानकारी दिनुभयो ।
जलविद्युत् क्षेत्रमा लगानी गर्न भनी अघिल्लो सरकारले असार २२ गते प्रबन्धपत्र नियमावली, कम्पनी सञ्चालनका नीतिगत आधारसहित मन्त्रिपरिषद्बाट निर्णय गरेको थियो भने सोही महिनाको २७ गते कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता भएको थियो ।
हाल सरकारले कार्यालय स्थापना र कर्मचारी चयन गर्नका लागि मात्र नेपाल राष्ट्र बैंकका निर्देशक एजेन्द्रप्रसाद लुईँटेललाई व्यवस्थापक स्यंयोजक तोकेको छ ।