


काभ्रे, ६ फागुन : सम्भावना पहिचान हाम्रो उद्देश्य, बढाऔँ लगानी बनाऔँ भविष्य भन्ने नाराका साथ काभ्रेको बनेपा पुलबजारमा मध्यमाञ्चल महोत्सव २०६८ सुरु भएको छ । फागुन १४ गतेसम्म चल्ने महोत्सव हिजोदेखि नै सुरु भए पनि औपचारिकरुपमा उद्घाटन भने आज राष्ट्रपति रामवरण यादवले गर्ने कार्यक्रम रहेको छ ।
महोत्सव उद्घाटनका लागि राष्ट्रपति यादव दिउँसो १ बजे बनेपा आइपुग्नुहुनेछ । महोत्सवमा कृषि उपजका सामग्री, सूचना प्रविधि, पशुसेवा, खाद्यान्नलगायत १ सय ७५ वटा स्टल रहेका छन् । महोत्सवको पहिलो दिन स्टलहरु व्यवस्थापन भइनसकेकाले सर्वसाधारणको उपस्थिति निकै कम देखिएको थियो । स्टल व्यवस्थापन तथा अन्य तयारीका लागि नै उद्घाटन कार्यक्रम आजका लागि राखिएको काभ्रे उद्योग वाणिज्य संघले जनाएको छ । काभ्रे उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । काभ्रे उद्योग वाणिज्य संघले विगत तीन बर्षदेखि काभ्रेका महोत्सव आयोजना गर्दै आएको छ । २०६६ सालमा श्रीखण्डपुरको चौरमा महोत्सव आयोजना गरिएको थियो भने गत बर्ष बनेपा र पनौतीमा सीमानामा रहेको सूचना प्रविधि पार्कमा महोत्सव आयोजना गरिएको थियो ।
यो विषयका प्रतिक्रियाहरु
jen kumar lama:Mar 2, 2012 08:37:30 PM
राष्ट्रपति जस्तो गरिमामयी पदमा रहेको विशिष्ट व्यक्ति उच्च-मा.बि. उदघाटन, मेला उदघाटन जस्तो साधारण कार्यक्रमहरुमा सवारी भएर आफ्नो पदको अबमुल्यन गरिरहेको जस्तो लाग्छ...कुनै पनि मेला वा कार्यक्रमको उदघाटनको लागी सम्बन्धित मन्त्रीको उपस्थित भएर हुने ठाउँमा विशिष्ट व्यक्तिको सवारी भएर त्यसले जनमानसमा पदिय महत्वको नराम्रो असर पर्न जानेछ जस्तो लाग्छ..आफ्नो पदिय हैसियत बुझी दिनु हुनको लागी अनुरोध...