


मोन्ट्रियल– बेलायतको एक प्रविधि कम्पनीले तारविहीन इन्टरनेट पहुँचका लागि विश्वको सबैभन्दा सस्तो कम्प्युटर ट्याब्लेट विकास गरेको दाबी गरेको छ । डाटाविन्ड लिमिटेडले तयार गरेको यो ट्याब्लेटको मूल्य अमेरिकी डलर ३५ रहेको छ र यसले विकासशील मुलुकका अरबौँ उपभोक्तालाई आफ्नो बजार बनाउन खोजेको बताइएको छ । विद्यार्थीका लागि अक्टोबर महिनामा अमेरिकी डलर ३५ पर्ने ट्याब्लेट बजारमा आइसकेको छ ।
डाटाविन्डले अमेरिकी डलर ५० मा आकाश कम्प्युटरको परिष्कृत स्वरूप बजारमा ल्याउने भएको छ । यसमा आकाशमा भन्दा बढी सुविधा रहेको बताइएको छ ।
आकाशलाई भारत सरकारले पनि सहयोग गरेको थियो । मोन्ट्रियलमा भारतीय विद्यार्थीका लागि तयार गरिएको उक्त ट्याब्लेट एक लाख प्रति वितरण भएको थियो ।
डाटाविन्डका प्रमुख कार्यकारी अधिकृत सुनित सिंह टुलीले प्रतिदिन ३० हजार यस्ता कम्प्युटरको माग हुने गरेको र हालसम्म ३० लाख ट्याब्लेटको माग भइसकेको बताउनुभयो ।
डाटाविन्डका बजार अनुसन्धानबाट यस्ता ट्याब्लेटको बिक्री निरन्तर बढ्ने देखिएको छ ।
सन् १९९० को अन्त्यतिर विश्वका ७५ करोड जनता इन्टरनेटमा आवद्ध भएका थिए ।
हाल मोबाइल फोन उपयोगकर्ताको सङ्ख्या छ अर्ब पुगेको छ र इन्टरनेटका उपभोक्ता नै दुई अर्ब पुगेका छन् ।
डाटाविन्डको आकाशले यो चार अर्बको रिक्तपनालाई पुर्ने अनुमान गरिएको छ ।
हाल एपल, सामसुङ तथा रिसर्च इन मोसनले यस्ता ट्याब्लेट बजारमा ल्याएका छन् । आकासको सबैभन्दा नजिकको प्रतिस्पर्धी एपलको आइप्याड रहेको छ । हाल भारतमा एक अर्ब २० करोड जनतामा केबल आठ प्रतिशतले मात्र इन्टरनेटमा पहुँच प्राप्त गरेका छन् ।
गुगलले सेप्टेम्बर महिनामा भारतमा सस्तो मूल्यको स्मार्टफोट उपलब्ध भएमा आउँदो तीन वर्षमा यस्ता ग्राहकको सङ्ख्या तेब्बर हुने अपेक्षा राखेको छ ।
भारतपछि डाटाविन्डले आफ्नो ट्याब्लेट थाइल्यान्ड, इजिप्ट, ब्राजिल तथा ल्याटिन अमेरिकामा वितरण गर्ने अपेक्षा गरेको छ ।