


काभ्रे–कहिले पोइल जान पाम त कहिले बाँझो खेतमा गीत गाउँदै दर्शक स्रोतामाझ चर्चामा आउने गायिका कोमल ओली राम्री गायिका मात्रै होइनन् राम्रो स्टेज तताउन सक्ने गायिका पनि हुन् । यस्तै देखियो मध्यमाञ्चल महोत्सव २०६८ को तेस्रो दिन आइतबार बनेपामा । बनेपाको पुलबजारमा आयोजित महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत कोमलले आइतबार के बुढा, के बुढी, के बालक, के तन्नेरी सबैलाई आफ्नो गीतमा भरपुर नचाउन सफल भइन् ।
उनले गीत मात्रै गाइनन् नेताले झैं एउटा गीत सकिने वितिक्कै लगभग ४÷५ मिनेटको भाषण पनि दिइन् ।
नेताहरुको राजनीतिक भाषण सुनेर दिक्क मान्ने दर्शकहरु कोमलको भाषणमा भने मुसुक्क हाँस्दै सुनिमात्रै रहेनन् परररर ताली बजाएर साथ पनि दिए । कोमल स्टेजमा मात्रै सीमित रहिनन् । उनी स्टेजबाट तल झरिन् र दर्शकको भीडमा पुगिन् । बेला बेलामा मलाई स्पर्श गर, म तिमीहरुको स्पर्श चाहन्छु भन्दै गरेकी कोमललाई आफू नजिक दर्शकहरुले पाउँदा दर्शकहरु त खुशी भए नै, उनी पनि फुरुंग भइन् । उरन्ठेउला केटाहरुले कोमलले पोइल जान पाम् भनेर गीत गाइरहँदा सुसेल्दै हामी लान्छौं भनेर कोमललाई साथ दिए ।
महोत्सव फागुन १४ गतेसम्म सञ्चालन हुनेछ । हरेक दिन दिउँसो १ बजेपछि सांस्कृतिक कार्यक्रमअन्तर्गत राष्ट्रिय एवं स्थानीय कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिने आयोजक काभ्रे उद्योग बाणिज्य संघले जनाएको छ । आइतबार कोमल वलीका अलावा गायक तिलक बम मल्ल, रामहरि न्यौपाने, हरि कर्माचाार्य, सञ्जीव वाइवा लगायतले पनि आफ्नो प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिएका थिए ।