


काठमाडौं, ७ फागुन : एकीकृत नेकपा (माओवादी)को आज बसेको स्थायी समितिको बैठकले सेना समायोजनमा जाँदा माओवादी सेनाका लडाकुहरुका लागि उपरथीको पद अनिवार्यरुपमा दिइनुपर्ने अडान राख्नुपर्ने निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले नेपाली सेनाअन्तर्गत बन्ने महानिर्देशनालयको नेतृत्व नेपाली सेनाले गर्ने भएपछि स्वतः त्यसको दोस्रो नेतृत्व जनमुक्ति सेनाले पाउनुपर्छ भन्नेमा अडान राख्नुपर्ने निष्कर्ष निकालिएको एमाओवादीका सचिव सिपी गजुरेलले बताउनुभयो ।
सचिव गजुरेलले माओवादी सेनाका लडाकुहरुलाई उचित सम्मान दिन र शान्ति प्रक्रियालाई वस्तुनिष्ठरुपमा सम्पन्न गर्नका लागि पनि यस खालको अडान राख्नुपर्नेमा पार्टी एकमत रहेको जानकारी दिनुभयो ।
नेपाली सेनाले राखेको प्रस्ताव एकहदमा सही भए पनि माओवादी सेनाका लडाकुलाई सेनानीभन्दा माथिको पद दिन नमिल्ने भन्ने कुरा कुनै पनि हालतमा जायज नभएको समेत उहाँले उल्लेख गर्नुभयो ।
संविधान निर्माणको क्रममा अरु पार्टीले कुनै पनि अडान नछोड्नुपर्ने तर एमाओवादीले मात्रै आफ्नो अडान छोड्नुपर्ने भन्ने कुरा जायज र तर्कसङ्गत नभएको भन्दै सम्झौताको संविधान बनाउने हो भने परिवर्तनको एजेन्डा समावेश भएको संविधान बनाउन पार्टी लाग्नुपर्नेमा बैठक एकमत रहेको सचिव गजुरेलले बताउनुभयो ।
राष्ट्रिय सहमतिको सरकारको विषयमा आजको बैठकमा सामान्य चर्चा भए पनि कुनै निर्णय नलिइएको र समग्र विषयमा आगामी फागुन ९ गते बस्ने बैठकबाट ठोस निर्णय गरिने उहाँले जानकारी दिनुभयो ।