


सिरहा, ८ फागुन : एक महिनादेखि चरणबद्ध आन्दोलन गर्दै आएको नेकपा एमाले सिरहाले आजदेखि ११ गते सम्मको लागि आफनो आन्दोलन स्थगित गरेको छ । एमालेले तेस्रो चरणको कार्यक्रम अन्तर्गत आजदेखि लोकमार्गमा अनिश्चिकालिन चक्कजाम गर्ने कार्यक्रम स्थगित गरेको हो ।
हिन्दुहरुको महान चाड महाशिवरात्री मेला र ग्याल्वो ल्होसार पर्वलाई मध्यनजर गर्दै १२ गते सम्मका लागि आफना विरोधका कार्यक्रम स्थगित गरिएको युवा संघ नेपालका कन्द्रीय उपाध्यक्ष सत्यनारायण यादबले जानकारी दिनुभयो । यसैबीच १२ गतेदेखि फेरि विरोधका कार्यक्रमलाई जारी राख्ने एमाले सिरहाले जनाएको छ । नेकपा एमालेले जिल्लामा शान्ति सुरक्षा कायम हुनुपर्ने, अपराधिक कार्यमा संलग्न प्रहरी प्रशासनका ब्यक्तिहरुमाथि छानवीन,आन्दोलनका क्रममा प्रहरीको लाठीचार्जबाट मृत्यु भएका ब्यक्तिलाई सहिद घोषणा गर्नुपर्ने लगायत बिभिन्न ८ बुँदे माग गर्दै आन्दोलन गर्दै आएको छ ।