


काठमाडौं, १० फागुन : नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङको अवधि घटाएको छ । बर्षको सबैभन्दा बढी सुख्खा समय मानिने फागुन महिनाकै समयमा प्राधिकरणले लोडसेडिङ घटाएको हो । चुहावट नियन्त्रण गर्न चालिएको कदमहरु प्रभावकारी भएको दाबी गर्दै दैनिक १३ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले लोडसेडिङ दैनिक १२ देखि ९ घण्टासम्ममा झारको छ ।
विहीबार देखि लागू हुने तालिका अनुसार एक दिन ९ घण्टा, दुई दिन १० घण्टा, दुई दिन ११ र दुई दिन १२ घण्टा लोडसेडिङ हुने भएको छ । केही दिनअघिमात्रै प्राधिकरणले दैनिक १४ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई बढीमा १३ घण्टा हुने गरी कटौती गरेको थियो । यस बर्ष १६ घण्टासम्म लोडसेडिङ हुने अनुमान गरिए पनि १४ घण्टाबाट नबढ्ने प्राधिकरणले बताइसकेको छ ।